महेन्द्रनगर २०८३ कार्र्तिक १५ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा सञ्चालन भइरहेको रामलीलाका क्रममा भएका मोटरसाइकल चोरीका घटनामा भगवान् रामको भूमिका निर्वाह गर्ने कलाकारसहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–७ निवासी गणेश भट्ट र रामलीला मैदानका ठेकेदार सिद्धार्थ सुनारसहित पाँच जना रहेका छन्। रामलीलामा भगवान् रामको भूमिका निर्वाह गर्दै आएका गणेश भट्ट मोटरसाइकल चोरी प्रकरणमा पक्राउ परेपछि स्थानीय क्षेत्रमा यो विषय चर्चाको विषय बनेको छ।
रामलीला सञ्चालन भइरहेका बेला फरक–फरक दिनमा तीनवटा मोटरसाइकल चोरी भएका थिए। चोरी भएका मोटरसाइकलमा सुदूरपश्चिम प्रदेश ०२–००३ प ५७१२, सुदूरपश्चिम प्रदेश ०२–००४ प ०९९६ र भारतीय नम्बर प्लेट यूके ०६ जेड ८२९३ रहेका छन्।
प्राप्त विवरणअनुसार सिद्धार्थ सुनारले चोरीको मोटरसाइकल पाँच हजार रुपैयाँमा खरिद गरेको र गणेश भट्टले आफ्नो मोटरसाइकलको भारतीय नम्बर प्लेट चोरीको मोटरसाइकलमा जडान गरी चलाएको अवस्थामा फेला परेको बताइएको छ।
चोरी भएका मोटरसाइकलमध्ये सुदूरपश्चिम प्रदेश ०२–००३ प ५७१२ नम्बरको मोटरसाइकल दोधारा चाँदनी नगरपालिका–५ मा इलाका प्रहरी कार्यालयबाट केही पर सडक किनारमा फालिएको अवस्थामा फेला परेको थियो। त्यस्तै, भारतीय नम्बर प्लेट यूके ०६ जेड ८२९३ भएको मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चलाइएको अवस्थामा फेला परेको जनाइएको छ। तर, सुदूरपश्चिम प्रदेश ०२–००४ प ०९९६ नम्बरको अपाचि मोटरसाइकल भने हालसम्म फेला परेको छैन।
घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यसैबीच, रामलीला सञ्चालन समितिले मोटरसाइकल चोरी प्रकरणमा पक्राउ परेका गणेश भट्टलाई भगवान् रामको भूमिकाबाट हटाएर उनको स्थानमा अर्को कलाकारलाई राखेको जानकारी दिएको छ।
धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको रामलीलामा भगवान् रामको आदर्श, मर्यादा र सदाचारको सन्देश प्रस्तुत गरिँदै आएको छ। तर, सोही कार्यक्रम सञ्चालन भइरहेका बेला मोटरसाइकल चोरीका घटना हुनु र रामको भूमिका निर्वाह गर्ने कलाकार नै पक्राउ परेको खबर सार्वजनिक भएपछि स्थानीयस्तरमा यसले थप चर्चा पाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



