महाकाली नदीले भत्काएको तटबन्ध अझै मर्मत हुन सकेन, स्थानीय आन्दोलित

Published by:

Published on:

ऐश्वर्या कुवँर महेन्द्रनगर । महाकाली नदीको चार लेन सडकमा भत्केको तटबन्ध अहिले सम्म पनि मर्मत हुन सकेको छैन ।

 गत भदौमा महाकाली नदीमा आएको बाढीले भत्काएको चार लेन सडकको ३००  मिटर तटबन्ध अहिले सम्म पनि मर्मत हुन नसकेको हो । तटबन्ध भत्केको आठ महिना सम्म पुनर्निमाणको काम नहुँदा स्थानीय त्रसित भएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १२ को ओदालीमा भत्किएको तटबन्ध छिटो निर्माण गर्नुपर्ने भन्दै स्थानीय आन्दोलित भएका छन् ।

महाकाली पुल योजना कार्यालय भत्केको ठाउँमा तटबन्ध निर्माण नगरेको भन्दै सङ्घर्ष समिति गठन गरेर आन्दोलन गर्नुपर्ने अवस्था आएको वडा नम्बर १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासले बताए । तटबन्ध भत्केका कारण भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ का बस्तीहरू डुबानमा परेको उनले बताए । महाकाली पुल योजनाले सडक र तटबन्ध निर्माण गरिरहेकै अवस्थामा बगेको तटबन्ध निर्माण नहुँदा बर्षातमा महाकालीको कटान र डुबानको जोखिम बढेको उनले बताए ।

गत भदौमा महाकाली नदीमा आएको बाढीले चार लेन सडकको ३०० मिटर तटबन्ध भत्किएको भए पनि तटबन्ध भत्केको ६ महिना पछि मन्त्री सहितको जम्बो टालीले अनुगमन गरेको उनले बताए । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सरकारी टोलीले माघ मा महाकाली पुल र चार लेन पहुँच मार्गको अनुगमन गरेको उनले बताए ।

भत्केको तटबन्ध हेर्न गृहमन्त्री र भौतिका पूर्वाधार तथा यातायात मन्त्री माघ मा आए पनि निर्माण गर्ने विषयमा केही कुरा नबोलेको उनले बताए । गृहमन्त्री रमेश लेखक र सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहितको जम्बो टोलीले अनुगमन गरे पनि जेठ अगाडी तटबन्ध निर्माण नहुने होकी भनेर स्थानीय चिन्तित भएका छन । गत वर्ष तटबन्ध भत्किदा ओदाली, ऐरी, बडैपुर र पिपरैया लगायतका बस्तीमा महाकाली पसेको र आउने बर्षातमा महाकाली बस्तीहरूमा पस्ने त्रास बढेको सङ्घर्ष समितिका संयोजक जनक बहादुर सिहले बताए ।

त्यसैगरी सङ्घर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसँग शीघ्र तटबन्ध निर्माण गर्नुपर्ने माग राखेको छ । मन्त्री दाहालले काठमाडौँ पुगेर तटबन्ध निर्माणबारे निर्णय गर्ने बताएका थिए । तर, महाकाली पुल योजना कार्यालयले महाकाली चार लेन सडक र पुलको भेरिएसन अर्डर ४ स्वीकृत नहुँदा सम्म तटबन्ध निर्माणको काम गर्न नसकिने जनाएको छ । सम्झौतामा ३० प्रतिशत भन्दा बढी लागत बढ्ने देखिएकाले भेरिएन अर्डर ४ मन्त्रीपरिषद्बाट पारित हुनुपर्ने बताईएको छ । विभागीय मन्त्रीले भेरिएसन अर्डर ४ पारित गर्न, मन्त्रीपरिषदमा प्रस्ताव लैजानुपर्ने बताए ।

मन्त्रीपरिषद्बाट भेरिएसन अर्डर ४ पारित नहुँदा सम्म तटबन्धको काम गर्न ठेकेदार कम्पनीलाई भन्न नसकिने महाकाली पुल योजना कार्यालयका सहायक सूचना अधिकारी सन्तोश चन्दले बताए । उनले भेरिएसन अर्डर ४ स्वीकृत नहुँदा सम्म काम गर्न समस्या रहेको बताए । महाकाली चार लेन पुल र चार लेन पहुँच मार्ग निर्माण गर्न २०७८ भदौ ७ गते दुई अर्ब ९० करोड ११ लाख ८० हजार ९ सय ६५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। भेरिएसन अर्डर ४ मा तीन अर्ब ७९ करोड ८० लाख १८ हजार ६ सय ३८ रुपैयाँ सम्झौता रकम रहेको छ ।स्थानीयहरुले भने लगतै तटबन्धको काम लगतै सुरु नभए यही १६ गते बाट आल्दोलन चर्काउने चेतावनी दिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार