ऐश्वर्या कुवँर महेन्द्रनगर । महाकाली नदीको चार लेन सडकमा भत्केको तटबन्ध अहिले सम्म पनि मर्मत हुन सकेको छैन ।
गत भदौमा महाकाली नदीमा आएको बाढीले भत्काएको चार लेन सडकको ३०० मिटर तटबन्ध अहिले सम्म पनि मर्मत हुन नसकेको हो । तटबन्ध भत्केको आठ महिना सम्म पुनर्निमाणको काम नहुँदा स्थानीय त्रसित भएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर १२ को ओदालीमा भत्किएको तटबन्ध छिटो निर्माण गर्नुपर्ने भन्दै स्थानीय आन्दोलित भएका छन् ।महाकाली पुल योजना कार्यालय भत्केको ठाउँमा तटबन्ध निर्माण नगरेको भन्दै सङ्घर्ष समिति गठन गरेर आन्दोलन गर्नुपर्ने अवस्था आएको वडा नम्बर १३ का वडा अध्यक्ष राम बहादुर बोहरा झकासले बताए । तटबन्ध भत्केका कारण भीमदत्त नगरपालिका वडा नम्बर ११, १२ र १३ का बस्तीहरू डुबानमा परेको उनले बताए । महाकाली पुल योजनाले सडक र तटबन्ध निर्माण गरिरहेकै अवस्थामा बगेको तटबन्ध निर्माण नहुँदा बर्षातमा महाकालीको कटान र डुबानको जोखिम बढेको उनले बताए ।
गत भदौमा महाकाली नदीमा आएको बाढीले चार लेन सडकको ३०० मिटर तटबन्ध भत्किएको भए पनि तटबन्ध भत्केको ६ महिना पछि मन्त्री सहितको जम्बो टालीले अनुगमन गरेको उनले बताए । सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सरकारी टोलीले माघ मा महाकाली पुल र चार लेन पहुँच मार्गको अनुगमन गरेको उनले बताए ।
भत्केको तटबन्ध हेर्न गृहमन्त्री र भौतिका पूर्वाधार तथा यातायात मन्त्री माघ मा आए पनि निर्माण गर्ने विषयमा केही कुरा नबोलेको उनले बताए । गृहमन्त्री रमेश लेखक र सङ्घीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल सहितको जम्बो टोलीले अनुगमन गरे पनि जेठ अगाडी तटबन्ध निर्माण नहुने होकी भनेर स्थानीय चिन्तित भएका छन । गत वर्ष तटबन्ध भत्किदा ओदाली, ऐरी, बडैपुर र पिपरैया लगायतका बस्तीमा महाकाली पसेको र आउने बर्षातमा महाकाली बस्तीहरूमा पस्ने त्रास बढेको सङ्घर्ष समितिका संयोजक जनक बहादुर सिहले बताए ।
त्यसैगरी सङ्घर्ष समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालसँग शीघ्र तटबन्ध निर्माण गर्नुपर्ने माग राखेको छ । मन्त्री दाहालले काठमाडौँ पुगेर तटबन्ध निर्माणबारे निर्णय गर्ने बताएका थिए । तर, महाकाली पुल योजना कार्यालयले महाकाली चार लेन सडक र पुलको भेरिएसन अर्डर ४ स्वीकृत नहुँदा सम्म तटबन्ध निर्माणको काम गर्न नसकिने जनाएको छ । सम्झौतामा ३० प्रतिशत भन्दा बढी लागत बढ्ने देखिएकाले भेरिएन अर्डर ४ मन्त्रीपरिषद्बाट पारित हुनुपर्ने बताईएको छ । विभागीय मन्त्रीले भेरिएसन अर्डर ४ पारित गर्न, मन्त्रीपरिषदमा प्रस्ताव लैजानुपर्ने बताए ।
मन्त्रीपरिषद्बाट भेरिएसन अर्डर ४ पारित नहुँदा सम्म तटबन्धको काम गर्न ठेकेदार कम्पनीलाई भन्न नसकिने महाकाली पुल योजना कार्यालयका सहायक सूचना अधिकारी सन्तोश चन्दले बताए । उनले भेरिएसन अर्डर ४ स्वीकृत नहुँदा सम्म काम गर्न समस्या रहेको बताए । महाकाली चार लेन पुल र चार लेन पहुँच मार्ग निर्माण गर्न २०७८ भदौ ७ गते दुई अर्ब ९० करोड ११ लाख ८० हजार ९ सय ६५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। भेरिएसन अर्डर ४ मा तीन अर्ब ७९ करोड ८० लाख १८ हजार ६ सय ३८ रुपैयाँ सम्झौता रकम रहेको छ ।स्थानीयहरुले भने लगतै तटबन्धको काम लगतै सुरु नभए यही १६ गते बाट आल्दोलन चर्काउने चेतावनी दिएको छ ।




