महेन्द्रनगर बैशाख १७ ।तरबुजा चोरीको आशंकामा कञ्चनपुरको बेदकोट नगरपालिकामा ९ वर्षीय बालकमाथि निर्घात कुटपिट भएको छ। बेदकोट–५ धरमपुर मामा घर बस्दै आएका तपेन्द्र भण्डारीमाथि स्थानीय ३८ वर्षीय भोज नाथले आशंकाकै भरमा हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्।
स्थानीयका अनुसार बुधबार पोल्खरीस्थित चौधर नदीको तटीय क्षेत्रमा फुटबल खेल्ने क्रममा नाथको करेसाबारीमा गएको बल लिन जाँदा तरबुजा चोर्न आएको आशंकामा नाथले बालकको दुबै हातखुट्टा बाँधेर कुटपिट गरेका हुन्।
बालकको हातखुट्टा बाँधेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त भिडियोमा नाथले ‘यसलाई मार्छु बरु जेल जान्छु’ भन्दै धम्की दिएका सुनिन्छ। आमाबाबुले भारतमा रहेका बालकको हेरचाह मामाघरकी बज्यैले गर्दै आएकी छिन्।
बालकमाथि कुटपिट गर्ने भोज नाथविरुद्ध ज्यान कसुरमा मुद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले जानकारी दिए। कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडकबहादुर खत्रीले घटनामा संलग्न सबैमाथि कानुनी कार्बाही हुने बताए।
