महेन्द्रनगर । स्वर्गीय भुवन भट्टको स्मृतिमा स्टार क्लबको आयोजनामा आगामी कार्तिक ६ गतेदेखि ९ गतेसम्म मेमोरियल फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगिता द रोयल फुटसल, पेट्रोल पम्प नजिक, गोबरियामा सञ्चालन हुनेछ। प्रतियोगितामा कुल ८० हजार रुपैयाँ पुरस्कार राशि पूल प्राइज राखिएको आयोजकले जनाएको छ।
प्रतियोगितालाई खेलकुदमा मात्र सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यसमेत राखिएको छ। प्रतियोगिता सम्पन्न भएपछि सम्पूर्ण खर्च कटाएर बाँकी रहेको रकम अनाथालय वा वृद्धाश्रमलाई सहयोग गरिनेछ। साथै, सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
स्वर्गीय भुवन भट्टको सम्झनालाई जीवन्त राख्दै खेलकुदमार्फत मित्रता, एकता र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
खेलकुद, मानवीय सेवा र सामाजिक सद्भावलाई एकैसाथ जोड्ने यस पहलले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै युवाहरूलाई सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।



