महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको लगानीमा सामुदायिक वनभित्र ४० हजार भन्दा विरुवा रोपिएका छन्। नगरका तीन सामुदायिक वनमा विभिन्न प्रजातिका विरुवा रोपिएका हुन।
सव डिभिजन वन कार्यालय बाणीसँगको समन्वयमा विभिन्न प्रजातिका विरुवा उत्पादन गरेर सामुदायिक वनलाई हस्तान्तरण गरिएको नगर प्रमुख हेमराज ओझाले बताए।
‘जलवायु परिवर्तन भइरहेको अवस्थामा पर्यावरण संरक्षणलाई नगरपालिकाले प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘वन कार्यालयसँग समन्वय गरेर सामुदायिक वनभित्र वृक्षारोपण गरिएको हो।’
रोपिएका बेल, चिउँरी, दालचिनी, बेद, बाँस, डाली घाँस, हर्रोबर्रो, अमलालगायत प्रजातिका विरुवा हुँर्किदै गएका छन्।
नगरपालिकामा आयुर्वेदिक औषधी केन्द्र पनि रहेकाले त्यहाँ चाहिने जडीबुटीका लागि प्रयोग हुने विरुवा पनि रोपिएको छ।
‘आयुर्वेदिक औषध नहुँदा समस्या हुने गरेको थियो। हर्रोबर्रो, अमला प्रयोग गरेर अब औषधको रुपमा प्रयोग गर्न सकिन्छ,’ नगर प्रमुख ओझाले भने।