महेन्द्रनगर । भीमदत्त नगरपालिका ६ मा हुने उप निर्वाचनमा एमालेबाट बहादुर चन्द वडा अध्यक्षका उम्मेदवार हुने भएका छन् । एमाले भीनपा ६ वडा कमिटीले चन्द र जिल्ला कमिटी सदस्य राजेन्द्र आग्रीलाई वडा अध्यक्षको उम्मेदवारका लागि नगर कमिटीमा सिफारिश गरेको थियो । नगर कमिटी बैठकमा जिल्ला कमिटी सदस्य आग्रीले चन्दलाई उम्मेदवारका लागि समर्थन गरेपछि उनी चुनाव लड्ने निश्चित भएको हो ।
शान्ति निकेतन माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक चन्द केही महिना अघि शिक्षण पेशाबाट अनिवार्य अवकाश भएका थिए । नगर कमिटी बैठकमा वडा अध्यक्षका उम्मेदवारद्वय चन्द र आग्री सहितका नेताहरु छलफल भएको थियो ।
एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थीले आकाँक्षी सहित नेताहरुबीच छलफल गरिएको बताए । छलफलमा आग्रीले चन्दलाई समर्थन गरेका हुन् ।
नगर कमिटीले चन्दको नाम जिल्ला कमिटीमा सिफारिश गरेपछि जिल्लाले उनलाई औपचारिक रुपमा उम्मेदवार बनाउने निर्णय गर्ने छ । एमालले कार्तिक १५ गतेभित्र उम्मेदवार टुङ्गो लगाउने गरी उम्मेदवार चयन प्रक्रिया अघि बढाएको हो ।
एमाले कञ्चनपुरका कार्यालय सचिप रामचन्द्र रग्मीले वडा अध्यक्षका आकाँक्षी दुई जनाबीच छलफल गर्दा आग्रीले चन्दलाई समर्थन गर्दै सहमति र सहकार्य गरी अघि बढ्ने सकारात्मक छलफल भएको जानकारी दिएका छन् ।
एमाले पोलिटब्युरो सदस्य एबम् कञ्चनपुर इन्चार्ज निरुदेबी पाल, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्ष जनकराज अवस्थी लगायतका नेताहरु छलफलमा सहभागी भए ।
एमाले २०७९ को स्थानीय तह निर्वाचनमा गुमेको विरासत फर्काउने गरी पूर्व प्र्रधानाध्यापक चन्दलाई उम्मेदवार बनाउने रणनीति लिएर चुनाव प्रक्रिया होमिएको छ ।
एमालेले पहिलो पटक २०७९ को स्थानीय तह निर्वाचनमा भीनपा ६ गुमाएको थियो । त्यस अघि २०७४, २०५४ र २०४९ मा एमालेले जितेको थियो ।
पार्टी एक ढिक्का भएको सन्देश प्रवाह हुने गरी एमालेको नगर कमिटीले चन्दलाई सर्वसम्मत उम्मेदवार बनाएको हो । वडा कमिटी बैठकमा पनि सर्वसम्मत उम्मेदवार बनाउन अन्तिमसम्म प्रयास गरिएको थियो ।
भीमदत्त ६ मा एमालेका पोलिटब्युरो सदस्य एबम् सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावल, एमाले सुदूरपश्चिम प्रदेश कमिटी उप सचिव नर बहादुर विश्वकर्मा,एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य पूर्व साँसद डा। दिपक प्रकाश भट्ट, एमाले कञ्चनपुरका उपाध्यक्ष जनकराज अवस्थी, सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरु मोहन रावल, लक्ष्मी विक लगायतका नेताहरु छन् । चार दशक शिक्षण पेशामा बिताएका वडा अध्यक्षका उम्मेदवार चन्द एमालेका शिक्षक, पेशागत लगायतका संगठनमा नेतृत्व गरी जिम्मेवारी वहन गरि सकेका छन् ।
उनी इमान्दार, कर्तव्यनिष्ट र स्वच्छ छवि भएको व्यक्तित्वका रुपमा परिचित छन् । २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्ष महेन्द्र खड्का गत वर्ष निधन भएपछि रिक्त पदमा उप निर्वाचन हुन लागेको हो ।