महेन्द्रनगर । कञ्चनपुरमा बाख्रा चोर्नेहरुबाटै प्रहरीले घुस खाने गरेको आरोप लागेको छ।
जिल्लाको पुनर्वास, बेलौरी र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा एकपछि अर्को बाख्रा चोरी हुन थालेको किसानको गुनासो छ। किसान आफैले बाख्रा चोरीमा संलग्न व्यक्तिलाई समातेर प्रहरीको जिम्मा लगाउने गरेको भए पनि त्रिभुवनवस्ती प्रहरी चौकीले घुस खाएर दोषीलाई उन्मुक्ति दिने गरेको आरोप छ। बेलौरीको शिवनगरकी लक्ष्मी चौधरी ९डगौरा र पुनर्वासको त्रिभुवनबस्तीका मिलन दाहाललाई प्रहरीले रकम लिएर उन्मुक्ति दिएको पीडित किसानको आरोप छ।
८ जना किसानले बाख्रा चोरी भएको भन्दै प्रहरीमा निवेदन नै दर्ता गरेका थिए। तर, त्रिभुवनबस्ती प्रहरीले २ जनाको बाख्राको मूल्य मात्र फिर्ता गरेर चोरीमा संलग्न व्यक्तिलाई उन्मुक्ति दिएको छ। बेलौरीबाट बाख्रा चोरेर भाग्दै गर्दा पुनर्वास नगरपालिका–१ बलभद्रबस्तीबाट बाख्रासहित मोटरसाइकलमा सवार दुईजनालाई कात्र्तिक ४ गते स्थानीयले समातेर आईबीआरडीस्थित अस्थायी प्रहरी पोष्टलाई बुझाएका थिए।
बाख्रा चोरी भएका अन्य किसान पनि चौकीमा पुग्न थालेपछि बाख्रासहित उनीहरुलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती पठाइएको थियो। चोरीको बाख्रासहित पक्राउ परेका व्यक्तिबाट प्रहरीले घुस खाएर छोडेको किसान मोतिराम रानाको आरोप छ। उनले भने, ‘एक महिला र एक पुरुषलाई प्रहरीमा बुझाइएको थियो।
एक बाख्रा चराउने पनि थिए। हामीले निवेदनसमेत दिएका हौँ। तर, उनीहरुलाई पैसा लिएर छोडिएछ। हामीले रकम पनि पाएनौ। बाख्रा पनि पाएनौ।’ कार्तिक ५ गतेदेखि हालसम्म इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा पुग्दा पनि चोरीमा संलग्न व्यक्ति पक्राउ नगरिएको रानाले गुनासो गरे। यस्तै पुनर्वास नगरपालिका–११ अमरबस्तीका कृष्ण सुनारले पनि असोज २ गते खसी चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए।