महेन्द्रनगर । पुनर्वासमा जङ्गली हात्तीको आक्रमणबाट एक जना वन हेरालु घाइते भएका छन् । पुनर्वास नगरपालिका १० स्थित मधु सामुदायिक वन क्षेत्रमा हेरालुका रूपमा कार्यरत अन्दाजी ६० वर्षीय परी बिष्ट मंगलबार साँझ जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका हुन् ।
उनको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख बन अधिकृत दिनेश कुमार यादवले जानकारी दिए ।
वनमै हेरालुको काम गरिरहेको बेला अचानक हात्तीले आक्रमण गरी घाइते भएका विष्टको छातीमा चोट लागेको छ । अहिले जङ्गली हात्तीको बथान लालझाडी बन क्षेत्रमै रहेकाले लालझाडी र पुनर्वासका नागरिकहरूलाई सचेत रहन कुण्डा सबडिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।