अछाम — ढकारी गाउँपालिका(८ घोडासैनका दुई जना किशोरीको जंगलमा शव भेटिएपछि हत्या गरिएको आशंकामा प्रहरीले दुई जनालाई आइतबार राति नियन्त्रणमा लिएको छ । ढकारीकै २० वर्षमुनिका दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको अछामका प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले बताए ।
‘हिजो राति २ बजे उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । किशोरीहरूलाई घिसारिएको जस्तो देखिन्छ । थप कुरा मेडिकल रिपोर्टबाट पनि थाहा होला,’ उनले भने, ‘ नियन्त्रणमा लिइएकाहरूले भनेको आधारमा उनीहरूको उमेर २० वर्षमुनि देखिन्छ । खास उमेर कति हो भन्ने उनीहरूको जन्मदर्ता र अन्य कागजातले खुल्ने कुरा हो ।’
घटनालाई गृह मन्त्रालय , नेपाल प्रहरीले गम्भीर रूपमा लिएकाले अनुसन्धानलाई थप विश्वसनीय बनाउनका लागि दुइ वटै शवको पोस्टमार्टमका लागि भेरी प्रादेशिक अस्पताल नेपालगन्ज पुर्याइएको प्रहरी प्रमुख भण्डारीले बताए । जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टम गर्ने भनेर आइतबार साँझ शव मंगलसेन ल्याइए पनि गृह मन्त्रालय, प्रहरी र परिवारको सल्लाहमा शव नेपालगन्ज लगिएको हो । ‘ अनुसन्धानलाई निष्पक्ष बनाउनका लागि फरेन्सिक डाक्टर भएको ठाउँमा पोस्टमार्टम गर्ने सल्लाह भयो । यसो गर्दा थप विश्वसनीय हुन्छ,’ उनले भने ।
शुक्रबार बाख्रा चराउन गएका १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको शव गाउँपालिकाको वडा नम्बर १ मा पर्ने रिमारवा छिन्ने जंगलमा शनिबार दिउँसो १५ मिटरको दुरीमा क्षतविक्षत अवस्थामा फेला परेको थिए ।
