महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँस्थित बैजनाथ टोलमा आइतबार एक स्थानीयको घरमा चोरी भएको छ । बैजनाथ टोलका टेकेन्द्र रावलको ढोकाको ताला काटेर घरभित्र पसेर चोरी गरिएको छ ।
चोरहरुले सुनका गहना सहित नगद रकम चोरी गरी लगेका छन् । रावल परिवार घरमा कोही नभएको बेला घरभित्र पसेर दराज तोडफोड गरी चोरी गरिएको छ । रावल परिवारका अनुसार सुनको सिक्री, औठी र नगद २५ हजार चोरी भएका छ ।
स्थानीय रावलले घर परिवारका सदस्य घर बाहिर भएको बेला ढोकाको ताला काटेर घरभित्र पसेर चोरी गरिएको बताए । ‘म विहान साढे १० बजेपछि बजार गए, मेडम पनि कार्यालय गइन्, छोरीहरु विद्यालय गए, म बजारबाट दिउँसो १ बजे फर्केर घरभित्र पस्दा यस्तो अवस्था देखे’ उनले भने,‘गरगहना, नगद सहित लगिएको छ, नगदमा घर खर्च चलाउन राखिएको १५÷१६ हजार थियो, त्यो बाहेक ५÷६ हजार बच्चीको दक्षिणाको थियो ।
ढोकाको ताला तोडेर घरभित्र पसेका चोरहरुले दुई छुट्टाछुट्टै कोठाका दराज तोडफोड गरी समान लगेका छन् । एउटा दराजभित्रका लत्ता कपडा भुईमा फालिएका छन् ।
घरको बाहिरी ढोकाको ताला पलङ्गमा राखिएको अवस्थामा भेटिएको छ । चोरीपछि उनीहरु घर पछाडिबाट भागेको आशंका गरिएको छ । घर पछाडि करेसाबारीमा खुट्टाको छाप छन् । करेसाबारीको तारबार नाघेर उनीहरु भागेको आशंका गरिएको छ।
रावल परिवारले तत्काल प्रहरीलाई घट्नाबारे जानकारी गराएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले घरमा पुगेर जानकारी लिएको छ । प्रहरीले घट्नास्थलको मुचुल्का बनाएको छ ।
भीमदत्त नगरपालिका ५ का वडा सदस्य रिता चन्द लगायत वडा कार्यालयका प्रतिनिधि घट्नास्थल आएका छन् । भीनपा ५ का वडा सदस्य चन्दले दिनदहाडै चोरी हुन गम्भीर विषय भएको बताइन् ।
स्थानीयले यस अघि रावल घर नजिक स्थानीयको घरबाट काठ चोरी भएको बताएका थिए । भगवति मन्दिरमा दुई पटक चोरी गरिएको सिसि क्यामेरा जडान गरिएको स्थानीयले बताए ।
