झलारी । कृष्णपुर नगरपालिकाले शिक्षक बैंकका लागि शिक्षक पदपूर्तिको विज्ञापन खोलेको छ। शिक्षक बैंक स्थापना गरी पदपूर्ति गर्ने उद्देश्यले शिक्षक पदपूर्ति र शिक्षक बैंक तयारीका लागि विज्ञापन आह्वान गरिएको हो। नगरपालिकाले विद्यालयहरूको पठनपाठन नियमित गर्न र शिक्षक भर्ना गर्दा लाग्ने खर्च तथा समयलाई बचत गर्न शिक्षक बैंक स्थापना गरी पदपूर्ति गरिन लागेको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । उहाँले सामुदायिक विद्यालयहरूमा शिक्षक भर्नाका समयमा पैसा समय खर्च हुने र त्यसले पठनपाठन तथा अन्य गतिविधिमा बाधा पुग्ने भएकाले नगरपालिकाले समयमै शिक्षक बैंकका रुपमा नगरपालिकाको शिक्षासेवा सञ्चालन नियमावली २०७५ बमोजिम विज्ञावन आह्वान गरिएको बताउनुभयो।
बिहीबार प्रथम पटक प्रकाशित विज्ञापनमा प्राथमिक तहका लागि अस्थायी करार ३ जनाको लागि विज्ञापन आह्वान गरिएको छ। नगरपालिका अन्तर्गतका बैजनाथ आधारभूत विद्यालय कृष्णपुर नगरपालिका १ दोमिल्ला कालिका माध्यमिक विद्यालय कृष्णपुर नगरपालिका १ बण्ड र ग्वाँसी आधारभूत विद्यालय मालुबेलामा रिक्त रहेका प्राथमिक तहको अस्थायी करार शिक्षक पदमा करार पदपूर्तिका लागि नगरपालिकाले १५ दिने सूचना प्रकाशित गरेको छ । सूचनामा शिक्षक बैंककाका लागि छनोट भएका उम्मेदवारको अवधि छनोट भएको दुई वर्षसम्म रहने र रिक्त मागको आधारमा शिक्षक बैंकबाट उम्मेदवारलाई सिफारिस गर्ने बताइएको छ ।
