अमेरिकाबाट बोरा बोकेर फर्किए नेपाली

Published by:

Published on:

काठमाडौ । अमेरिकाबाट अध्यागमन कानुन उल्लंघन गरेको भन्दै ३७ नेपालीलाई डिपोर्ट गरिएको हो।
अमेरिकाले पछिल्ला वर्षहरूमा नेपालीहरूलाई विभिन्न कारणले डिपोर्ट गर्दै आएको छ।
डिपोर्ट हुने नेपालीहरूको संख्या क्रमशः बढ्दो रहेको छ।
२६ जेठ, काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु बोरा बोकेर फर्किएका छन् । उनीहरु आइतबार मध्यराति बोरा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए । कतिपय रित्तो हात फर्किएका थिए ।

अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरु गएराति काठमाडौं फर्किएका थिए । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएको वरिष्ठ अध्यागमन अधिकृत एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले अनलाइनखबरलाई जानकारी दिए ।

उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन । प्रवक्ता न्यौपानेले, ‘हाम्रो इमिग्रेसनमा आउँदा सामान्य थिए, विमानमा के थियो थाहा हुने कुरा भएन ।’

गएराति करिब ९ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनीहरु बाहिरिँदा करिब १२ बजेको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ ।

अमेरिकाबाट डिपोर्ट हुने नेपालीहरूको संख्या बढ्दो छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै रहेको स्रोतले जनायो ।

अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार