कंचनपुरमा असइ कुट्ने तीन जना पक्राउ, अभद्र व्यवहारमा मुद्दा चलाउने
महेन्द्रनगर । कञ्चनपुरमा नेपाल प्रहरीका असइमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–८ स्थित पचुइ प्रहरी चौँकीका इन्चार्ज असइ बीरबहादुर चन्दमाथी कुटपिट गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
जेठ २१ गते दिउँसो असई चन्दमाथी सो क्षेत्रका स्थानीय १०–१५ जनाको समूहले लछारपछार गर्दै कुटपिट गरेको भीडियो मंगलबार मात्रै सार्वजनिक भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक ९डिएसपी० सागर बोहराका अनुसार, असइ चन्दमाथि कुटपिट गर्नै बेलौरी नगरपालिका–८ का राहुल राना, कलीराम चौधरी र दुम्ली चौधरीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने डिएसपी बोहराले जानकारी दिए ।
भारतबाट लुकाईछिपाई स्थानीयले मल खाद ल्याउन खोजेपछि प्रहरीले रोक्न खोज्दा झडपको स्थिति सृजना भएको स्थानीय पदम रानाले बताए ।
रोपाई नजिकिदै गर्दा यहाँका किसानहरु अझै मल खादका लागि भारतको भर पर्दै आएको उनले बताए । मल खाद नल्याउन प्रहरीले सम्झाउन खोज्दा स्थानीयहरुको समुहले असइ चन्दलाई लछारपछार गर्दै कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
