महेन्द्रनगर माघ २ । कञ्चनपुरको महेन्द्रनगरस्थित खुल्ला मञ्चमा जारी घुसुणी महोत्सवभित्र थारु संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको ‘थारु गाउँ’ नामक स्टलमै अनैतिक गतिविधि र खुलेआम लोकल रक्सी बिक्री देखि अन्य मदिरा बिक्री बितरण भइरहेको पाइएको छ ।
स्थानीय र सरोकारवालाहरूका अनुसार थारु समुदायको मौलिक पहिचान, भाषा र संस्कृतिको संरक्षण गर्ने नाममा राखिएको स्टलमा नै संस्कृतिविपरीत गतिविधि सञ्चालन भइरहेका छन् । यसले थारु संस्कृतिको संरक्षणभन्दा पनि विकृति फैलाउने काम भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
थारु गाउँ स्टलमा लोकल रक्सी,अन्य मदिरा खुलेआम पाइने, अनैतिक गतिविधि भइरहने र मर्यादाविपरीत व्यवहार देखिन थालेपछि महोत्सवको उद्देश्य नै प्रश्नको घेरामा परेको छ । “संस्कृति जोगाउने बहानामा पैसा कमाउने धन्दा चलाइएको छ,” स्थानीयहरूको आरोप छ ।
स्थानीय थारु अगुवाहरूले समेत थारु संस्कृतिलाई यसरी प्रस्तुत गर्नु सम्पूर्ण समुदायको अपमान भएको प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार थारु संस्कृतिमा अनुशासन, मर्यादा र सामाजिक मूल्य महत्त्वपूर्ण हुने भए पनि महोत्सवमा त्यसको ठीक उल्टो चित्र देखाइएको छ ।
थारु गाउँमा बिक्री वितरण भइरहेका खाना तथा नास्ताका परिकारहरू समेत गुणस्तरहीन रहेको गुनासो सर्वसाधारणले गरेका छन् । तर यस्ता विषयमा खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण निकाय, स्थानीय प्रशासन र प्रहरीको कुनै अनुगमन नदेखिएको आरोप लागेको छ ।
थारु गाउँ स्टलमा भइरहेको लोकल रक्सी बिक्री, अनैतिक गतिविधि र गुणस्तरहीन खानपानबारे पटक–पटक जानकारी गराउँदा पनि सम्बन्धित निकायहरू मौन बसेको स्थानीयको भनाइ छ । यसले गैरकानुनी गतिविधिलाई मौन स्वीकृति दिएको जस्तो देखिएको उनीहरूको आरोप छ ।
सरोकारवालाहरूले थारु संस्कृतिको नाममा भइरहेको यस्तो विकृत गतिविधि तत्काल रोक्न, दोषीलाई कारबाही गर्न र महोत्सवलाई मर्यादित, कानुनी र संस्कृतिमैत्री बनाउन प्रशासनसँग माग गरेका छन् । संस्कृति संरक्षणको नाममा आयोजना गरिएको घुसुणी महोत्सव अहिले संस्कृतिमाथि नै प्रश्न उठाउने गतिविधिको केन्द्र बन्दै गएको भन्दै स्थानीयस्तरमा चर्को आलोचना सुरु भएको छ ।
