सुदूरपश्चिम प्रदेश इन्जिनियर्स एसोसिएसनद्वारा सव–इन्जिनियर यादवको हत्या विरुद्ध कडा विरोध

Published by:

Published on:

महेन्द्रनगर फागुन ५ । नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेशले सव–इन्जिनियर प्रमोद यादवको हत्याको कडा विरोध गर्दै दोषीमाथि तत्काल कारबाहीको माग गरेको छ।

फागुन ३ गते भौतिक पूर्वाधार विकास कार्यालय, मलंगवा, सर्लाहीमा कार्यरत सव–इन्जिनियर प्रमोद यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको घटनाप्रति आपत्ति जनाउँदै, आज इन्जिनियर्स एसोसिएसनले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको हो।

विज्ञप्तिमा भनिएको छ, “दिनदहाडै राष्ट्रसेवक कर्मचारीमाथि गरिएको जघन्य अपराधप्रति राज्य संवेदनशील बन्न नसकेकोमा गम्भीर असन्तुष्टि व्यक्त गर्दछौं। यस्तो घटनाले राष्ट्रसेवक कर्मचारीहरूको मनोबल खस्काउने मात्र नभई देशको सुरक्षा अवस्थामाथि प्रश्न चिन्ह खडा गरेको छ।”

विरोधस्वरूप इन्जिनियरहरूले एकिकृत भएर कालोपट्टी बाँधेर सडकमा प्रदर्शन गरेका थिए। सव–इन्जिनियर यादवको आत्माको चिरशान्तिको कामना गर्दै मदनचोकमा दीप प्रज्वलन गरिएको थियो भने परिवारजनप्रति समवेदना प्रकट गर्दै एक मिनेट मौनधारण समेत गरेका थिए ।

सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर नवीन राज जोशीले दोषीलाई तत्काल पक्राउ गरी कानुनी कठघरामा उभ्याउन, उच्चस्तरीय छानबिन समिति गठन गरी निष्पक्ष अनुसन्धान गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

इन्जिनियर्स एसोसिएसनले चेतावनी दिंदै भन्यो, “सरकारले घटनाको सत्य–तथ्य छानबिन गरी यथाशीघ्र दोषीमाथि कारबाही नगरे, थप चरणबद्ध आन्दोलनको तयारी गर्ने जनाए ।” ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्रीसमक्ष पेश गरिएको थियो, जसमा इन्जिनियरहरूको व्यापक सहभागिता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार