सम्पादकीय महेन्द्रनगर फागुन १९ । प्रतिनिधिसभा सदस्यको निर्वान हुन मात्र ३१ घण्टा ३३ मिनेट बाकी छ । देश निर्वाचनको माहोलमा छ। गाउँदेखि शहरसम्म राजनीतिक दलका गतिविधि तीव्र बनेका छन्।
उम्मेदवारहरू जनताको घरदैलोमा पुगेर आफ्ना एजेन्डा प्रस्तुत गरुहेका छन्। तर यस बीचमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको मतदाताको सचेत निर्णय होलोकतन्त्रमा मतदाता नै सबैभन्दा शक्तिशाली मानिन्छ। नागरिकले दिएको एक मतले स्थानीय तहदेखि संघीय संसदसम्म नेतृत्व चयन गर्छ।
त्यही नेतृत्वले देशको नीति, योजना र भविष्यको दिशा तय गर्छ। त्यसैले “मेरो एक मतले के फरक पर्छ र ?” भन्ने सोच अब परिवर्तन हुन आवश्यक देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार, निर्वाचन केवल उम्मेदवारको लोकप्रियता वा पार्टीको प्रभावका आधारमा होइन, योग्यता, इमान्दारी, अनुभव र देशप्रतिको प्रतिबद्धता का आधारमा हुनुपर्छ।
विगतका कार्यहरूको मूल्यांकन गर्दै, उम्मेदवारले समाज र राष्ट्रका लागि के योगदान दिएका छन् भन्ने कुरामा मतदाताले गहिरो ध्यान दिनुपर्ने सुझाव दिइएको छ। विशेषज्ञहरू भन्छन्, देशको समृद्धि, सुशासन, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रको सुधार सक्षम नेतृत्वबाट मात्र सम्भव छ। त्यसैले मत हाल्दा भावनामा होइन, विवेकमा आधारित निर्णय लिनु नै देश र जनताको दीर्घकालीन हितमा हुन्छ।
यस पटकको निर्वाचनलाई परिवर्तन र स्थायित्वको अवसरका रूपमा हेरिएको छ। युवा मतदाताको सहभागिता उल्लेखनीय देखिएको छ, जसले राजनीतिक चेतनामा नयाँ ऊर्जा थपेको छ। सामाजिक सञ्जाल र सार्वजनिक बहसहरूले पनि मतदातालाई सूचित निर्णय लिन सहयोग पुर्याइरहेका छन्।
अन्ततः लोकतन्त्रको सुन्दरता नै जनताको हातमा रहेको अधिकार हो। तपाईंको एक मतले देशको भविष्य कोर्छ। त्यसैले सोचेर, बुझेर, देश र राष्ट्रको भलो गर्ने उम्मेदवार छानौँ।
