महेन्द्रनगर चैत्र २२ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक आईजीपी राजु अर्यालले आफ्नो संगठन देशको आन्तरिक सुरक्षामा मजबुद पहरेदार भए पनि आफ्नो सुरक्षामा सम्झौता गर्न पुगेको बताएका छन् ।
कैलालीको अत्तरियामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालयको २५औँ स्थापना दिवसमा सम्बोधन गर्दै आईजीपी अर्यालले यस्तो बताएका हुन् ।
‘आन्तरिक सुरक्षाको मजबुद पहरेदार सशस्त्र प्रहरी बल नेपाल आफ्नो सुरक्षामा भने कहिलेकाहीँ कम्प्रमाइज भएको देखिन्छ,’ उनले भने, ‘अस्ति भर्खर सीमा सुरक्षा गुल्म खक्रौलाभित्र पसेर गैरकानुनी हर्कत भएको छ । यस्तो अवस्थामा बल प्रयोग गर्ने कुरामा कानुनले छेकेको छैन । संगठनले यस्ता विषयलाई गम्भीरतापूर्क हेरेको छ ।’
आईजीपी अर्यालले अपराधी र तस्करलाई माया गर्ने नभई कानुनअनुसार कारबाही गर्नुपर्ने बताए । गुल्ममा आक्रमण हुँदा पनि फोटो खिचेर बस्ने सशस्त्र प्रहरीका कर्मचारीमाथि निलम्बनसम्मको कारबाही हुने आईजीपी अर्यालले बताए। आक्रमणमा संलग्नमाथि पनि अभद्र व्यवहारको मुद्दा मात्रै लगाइएको भन्दै आईजीपी अर्यालले नेपाल प्रहरीसँग पनि असन्तुष्टि पोखे ।
