महेन्द्रनगर चैत्र २७ । भन्सार कार्यालय कञ्चनपुरको गड्डाचौकीमा जडान गरिएको एक्सरे मेसिन प्रयोगविहीन बनेको छ ।
८ वर्षअघि गड्डाचौकी भन्सार कार्यालयले भारतबाट आउनेले बोकेका झोला तथा ल्याएका सामग्री जाँच गर्न भन्दै जडान गरेको उक्त मेसिन ८ वर्षदेखि प्रयोगबिहिन रहेको छ । भन्सार कार्यालयको चेकपोस्टमा राखिएको एक्सरे मेसिन लामो समयदेखि प्रयोग नहुँदा जीर्ण बनेको छ ।
२०७४ मा झन्डै एक करोड रुपैयाँभन्दा बढी खर्चेर एक्सरे मेसिन जडान गरिएको थियोरु। मेसिन जडानपछि भारतबाट घर फर्किने नेपाली कामदार र दैनिक उपभोग्य सामग्री किन्न सीमावर्ती भारतीय बजार जानेहरूको जाँचमा सहज हुने अनुमान गरिएको थियो । त्यहीअनुसार करिब एक वर्षसम्म सेवा पनि दिइयो।
तर मेसिन चलाउन सक्ने दक्ष जनशक्तिको अभाव र लामो समयदेखि बन्द हुँदा बिग्रेका कारण सञ्चालनमा ल्याउन नसकिएको भन्सार कार्यालयले जनाएको छ । भारतमा सास्ती खेपेर आएका नेपाली कामदारहरूले स्वदेशमा समेत जाँचका नाममा दुःख पाउँने गरेका छन ।
गड्डाचौकी भन्सार कार्यालयका कञ्चनपुरका निमित्त प्रमुख चक्र देव भट्टले मेसिन सञ्चालनमा ल्याउनका लागि विभागमा पत्र पठाएको बताए । ‘हामीले विभागमा पत्र पठाएका छौ विभागबाट मेसिन मर्मतका लागि मान्छे आउनुपर्ने हो अहिलेसम्म आएन ’निमित्त प्रमुख चक्र देव भट्टले भने। व्यवसायीहरुले भने भन्सार कार्यालयले मेसिन सञ्चालनमा नल्याउदा चोजाँचका नाममा अनावश्यक दुःख झेल्नुपरेको बताए ।

