सुदुरपश्चिममा युवापुस्तामा मानसिक दबाब,आत्महत्या दर उकालो

Published by:

Published on:

महेन्द्रनगर बैशाख १० । सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना विकराल बन्न थालेका छन् । गत चैतमा मात्रै ५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने उमेर समूहमा जेनजीको सङ्ख्या बढी देखिएको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्ने उमेर समूह अनुसार १० देखि ३० वर्षसम्मका २८ जना रहेका छन् । १४ देखि २८ वर्षभित्रका युवा जेनजीभित्र पर्छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्क अनुसार चालु अर्थिक वर्ष २०८२र८३ को साउनदेखि चैत मसान्तसम्म ४२१ जनाले आत्महत्या गरेको प्रहरी वरिष्ठ उपरीक्षक एवं प्रहरी प्रवक्ता पदमबहादुर विष्टले बताए। उनका अनुसार महिला १२७, पुरुष १९९, बालक २३ र बालिका ७२ जनाले आत्महत्या गरेको छन् ।

मङ्गलबार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीले चैतको कार्य प्रगति विवरणसम्बन्धी प्रेस विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभिन्न अपराध अनुसन्धानलगायतका घटनाको विवरण समावेश गरिएको छ । विवरणमा आर्थिक अपराध, लागुऔषध र आत्महत्याका घटना बढी देखिएका छन् । चैतमा आत्महत्या गर्ने उमेर समूहको विवरण अनुसार २० वर्षमुनिका १८ जना, २१ देखि ३० वर्षसम्मका १० जना, ३१ देखि ४० वर्षसम्मका आठ जना, ४१ देखि ५० वर्षका छ जना र ५० वर्षमाथिका १३ जना रहेका छन् ।

प्रहरी प्रवक्ता पदमबहादुर विष्टले चैतमा ३८३ वटा अपराधका घटना भएको जानकारी दिए। उनका अनुसार घटनामध्ये आर्थिक अपराध, लागुऔषध र आत्महत्याका घटनाको सङ्ख्या उच्च देखिएको छ । तथ्याङ्क अनुसार सुदूरपश्चिममा औसतमा प्रत्येक तीन दिनमा चार जनाले आत्महत्या गर्ने गरेका छन् । आर्थिक वर्ष २०७९र८० देखि २०८१र८२ सम्मको अवधिमा यो सङ्ख्या चिन्ताजनक देखिएको छ ।

पछिल्लो साढे तीन वर्षमा यस प्रदेशमा एक हजार ८९२ जनाले ज्यान गुमाएका छन् । आत्महत्या बढ्नुका प्रमुख कारणमध्ये गरिबी, पारिवारिक कलह, मानसिक स्वास्थ्य, अशिक्षा, सामाजिक सम्बन्धमा उतारचढाव र आवेगमा आउनु जस्ता कारण रहेको प्रहरी प्रवक्ता विष्टको भनाइ छ ।


प्रदेशमा आत्महत्याको अवस्था विकराल बन्न थालेपछि रोकथामका लागि निःशुल्क हेल्पलाइन सञ्चालनमा रहेको प्रवक्ता विष्टले जानकारी दिए। उनले मानसिक तनावमा भएका वा देखा परेमा नेपाल सरकारको ११६६ नम्बरको निःशुल्क हेल्पलाइनमा चौबिसै घण्टा खुला हुने भएकाले सम्पर्क गर्न सकिने जानकारी दिए।

आत्महत्या रोकथाम गर्न गरिबी र मानसिक स्वास्थ्य मुख्य कुरा देखिएकाले यसमा सुधार गर्न स्थानीय तहका सरकारले लगानी गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताए।

ताजा समाचार

सम्बन्धित समाचार