महेन्द्रनगर बैशाख २३ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले हुलाक सेवामार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेको छ । नेपाल सरकारको स्वीकृत एकसय कार्यसूचीको बुँदा नं। २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी का रूपमा विकास गर्ने नीति अनुरुप उक्त सेवा प्रारम्भ गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालय कञ्चनपुरबीच राहदानी वितरणसम्बन्धी सम्झौता भएपछि सेवाग्राहीको माग अनुसार घरमै राहदानी पुर्याउने व्यवस्था लागू गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार अब सेवाग्राहीले इच्छाएमा हुलाक कार्यालयमार्फत सहज रूपमा आफ्नो राहदानी घरमै प्राप्त गर्न सक्नेछन् ।
त्यसका लागि छुट्टै अनुसुची फाराम भरेर हुलाक सेवा शुल्क बुझाउनु पर्ने व्यवस्था छ । यो सेवा पुराना सेवाग्राहीहरूको हकमा भने लागु हुने छैन । यस सेवाले राहदानी लिन कार्यालयसम्म पुग्नुपर्ने झन्झट हट्नुका साथै समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ ।
