महेन्द्रनगर जेठ १ । भीमदत्त नगरपालिकाकी उपमेयर निलक लेखकलाई महाकाली साहित्य संगमले सम्मान गरेको छ। संगमको ३५औँ स्थापना दिवस तथा नेपाल–भारत बौद्धिक गोष्ठीको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा उनलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो।
संगमले उपमेयर लेखकले साहित्य र कला क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको जनाएको छ। कार्यक्रममा संगमका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति टी।एन। जोशीले संयुक्त रूपमा दोसल्ला ओढाउँदै प्रमाणपत्र हस्तान्तरण गरेका थिए।
