महेन्द्रनगर । गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० लाई होटेल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर, सरसफाइ, बजार अनुगमन, नागरिक स्वास्थ्य सुरक्षा तथा प्रशासनिक जवाफदेहितासम्बन्धी काम प्रभावकारी बनाउन विशेष निर्देशन जारी गरेको छ।
मन्त्रालयले जारी गरेको परिपत्रमा देशभर सञ्चालनमा रहेका केही होटेल तथा रेस्टुरेन्टमा खाद्य गुणस्तर तथा सरसफाइ कमजोर रहेको भन्दै सर्वसाधारणबाट व्यापक गुनासा प्राप्त भएको उल्लेख गरिएको छ। नागरिकको स्वास्थ्य सुरक्षा र उपभोक्ता अधिकारको सुनिश्चितता राज्यको प्राथमिक दायित्व भएकाले सम्बन्धित निकायसँग समन्वय गरी गुनासो तत्काल सम्बोधन गर्न तथा विधिको शासन र सार्वजनिक हित सुनिश्चित गर्न उच्च प्राथमिकताका साथ काम गर्न निर्देशन दिइएको छ।
परिपत्रअनुसार प्रमुख जिल्ला अधिकारीलाई होटेल तथा रेस्टुरेन्टमा उपलब्ध गराइने खाद्यान्नको गुणस्तर र खाद्य स्वच्छतासम्बन्धी नियमित, सघन तथा आकस्मिक अनुगमन गर्न भनिएको छ। अनुगमनलाई प्रक्रियामै सीमित नराखी परिणाममुखी बनाउन तथा नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने वा प्रचलित कानुन उल्लंघन गर्ने व्यक्ति वा संस्थामाथि कानुनबमोजिम कडा कारबाही गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी, प्रत्येक जिल्ला प्रशासन कार्यालयमा नागरिकले सहज रूपमा गुनासा दर्ता गर्न सक्ने हटलाइन वा द्रुत सेवा डेस्कसहितको गुनासो सुनुवाइ संयन्त्र तत्काल स्थापना गर्न भनिएको छ। नागरिकबाट प्राप्त हुने प्रत्येक गुनासोलाई उच्च प्राथमिकतामा राखी शीघ्र समाधान गर्न मन्त्रालयले जोड दिएको छ।
मन्त्रालयले स्थानीय तहका गुनासा तथा समस्यालाई जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा स्थानीयस्तरमै समाधान गर्नुपर्ने उल्लेख गरेको छ।



