महेन्द्रनगर । भीमदत्त नगरपालिका ९ टुँडीखेलका राय सिह धामीले नाति हरिशका लागि ब्रह्मदेबमा डेरा खोजेका छन् । हरिश ब्रह्मदेब चिल्ड्रेन एकेडेमीमा कक्षा ३ मा पढ्छन् । घरबाट साइकलमा आउने उनी बर्खाभर डेरामा बसेर विद्यालय छन् ।
‘साइकल चढेर आउँथ्यो, आज त घरबाट आएको छ, डेरा खोजेको छु, आइतबारदेखि त्यही बस्ने हो’ बाजे राय सिहले भने, ‘मेरी छोरीकी छोरीको नातिको त्यहीं डेरा छ, अब नाति पनि त्यही बस्छ ।’
ब्रह्मदेबमा कक्षा ९ मा पढ्ने उनकी दिदी केही महिना अघि डेरामा बसेकी हुन् । आमा बुवाले पढाईका लागि छोरीलाई डेरामा बसाएका छन् ।घरबाट विद्यालय आउने सकिने बाटो नभएपछि नातिको पढाईका लागि डेरा खोजेको धामीले बताए ।
‘यी गेदानको त के हुने हो, बाटोमा ताल बनेको छ, हिँड्न बन्द छ’ धामीले भने,‘बाटोमा त गेदान मादद् नाई पड्यो, त्यही भन्दा घरमा मार्न ठिक भो ।’
महाकाली कोरिडोरको ट्रयाकले ब्रह्मदेब खल्ला बाटो पुरिएपछि महाकाली नदीको भँगालो बैकल्पिक बाटोका रुपमा प्रयोग गरिएको थियो । बर्खा याममा भँगालो पानीले भरिएपछि ब्रह्मदेब आवागमन अप्ठेरो बनेको छ ।
स्थानीयले कोरिडोर ट्रयाक प्रयोग गरेपछि बालबालिकाले हिँड्न सक्ने अवस्था नभएको टुँडीखेलका धामीले बताए । ‘कोरिडोर बाटो त खतम छ, पानीसित हिँड्न सकिन्न, हामी ठूलालाई त हिँडन सकिने छैन,’ उनले भने,‘माथिबाट ढुङ्गा, माटो खस्ने डर छ, तल भासिने भय छ ।’
खल्ला, मुसेट्टी र टँुडीखेलका बालबालिका कक्षा ८ पास गरेपछि माध्यमिक तह पढ्नका लागि ब्रह्मदेब आउने गरेका छन् । तीन वस्तीका डेढ विद्यार्थी ब्रह्मदेब आउेन गरेको स्थानीय बताउँछन् ।
खल्लामा भीमदत्त स्मृति आधारभूत विद्यालयमा कक्षा ८ सम्म पठनपाठन हुने गर्छ । मुसेट्टीको सरस्वती आधारभूत विद्यालमा ५ कक्षा र टुँडीखेलमा यस शैक्षिक सत्रदेखि शिशु कक्षा मात्रै सञ्चालन गरिएको छ । भीमदत्तले टुँडीखेलका बैजनाथ माध्यमिक विद्यालयलाई भीमदत्त स्मृति मर्ज गरेको हो ।
टुँडीखेलका धामीले बर्खा लागेपछि ३० देखि ४० विद्यार्थीले यस अघि डेरा खोजी गरी बसेको बताए ।
आर्थिक अवस्था बलियो हुने स्थानीयले महेन्द्रनगर बजारमा डेरा गरी छोरा छोरी विद्यालय भर्ना गरेका छन् । ब्रह्मदेब पढ्ने अन्य अभिभावकले पनि डेरा खोजी रहेको धामी बताउँछन् ।
धामीले बर्खाको साउन र भदौ दुई महिना ब्रह्मदेबमा डेरा गरी बस्नुको विकल्प नभएको बताए । ‘साउन र भैदामा सबैले डेरा गरी बस्नु पर्ने हो, नत्र घरमा बस्नु पर्ने हो’ उनले भने ।
आर्थिक अवस्था कमजोर हुने वासिन्दासित ब्रह्मदेबमा डेरा गरी बालबालिकालाई पढाउन सक्ने अवस्था नभएको धामीले बताए ।
पैसा हुनेले महेन्द्रनगरसम्म भर्ना गरे, त्यस बाहेक ब्रह्मदेब पढ्नेले पनि डेरा खोजि रहेका छन्, पैसा नहुने चाहिँ समस्यामा छन्, डेरा खर्च व्यहोर्न नसक्ने पनि छन्’ उनले भने,‘बर्खाभर बालबालिका घरमा बसाउनु परो, यात डेरा खोज्नु परो, अरु केही उपाय नै छैन ।’
ब्रह्मदेबमा सिद्धनाथ माध्यमिक विद्यालयमा अधिकाँश विद्यार्थीहरु पढ्ने गरेका छन् । केही विद्यार्थी बोर्डिङ्ग स्कुलमा पनि पढ्ने गर्छन् ।
स्थानीयले बर्खामा समस्या हुन सक्ने भन्दै कोरिडोर ट्रयाक नखोल्न ठेकेदार कम्पनीलाई दबाव दिएका थिए । ठेकेदारले चैत महिनामै काम सकिने आश्वासन दिएर ट्रयाक खोल्न सुरु गरेको थियो ।
ट्रयाक खोलिएपछि पुरानो बाटो बन्द भएर बर्खा याममा ब्रह्मदेब आवागमन गर्न नसकिने चिन्ता स्थानीयलाई थियो ।
‘यही समस्या पर्छ भनेर नगर्न भनेका थियौ, चैतमै बनाउँछु भनेपछि ढुक्क भयौ’ स्थानीय धामीले भने ।
कोरिडोर निर्माणका लागि जनप्रतिनिधि सहित स्थानीय भीमदत्त नगरपालिका र प्रशासन कार्यालय पुगेका छन् । स्थानीयले कोरिडोर ट्रयाकमा आन्दोलन गरी दबाव दिएका छन् ।
तीन वर्ष अघि २०८० मा कोरिडोरको ब्रह्मदेब कौवानी खण्ड निर्माण शिलान्यास गरिएको थियो । हाल ब्रह्मदेबको भिमरीगाडदेखि खल्ला, टुँडीखेल र मुसेट्टी हुँदै कौवानीसम्म कोरीडोर ट्रयाक खोलिएको छ ।
भीमदत्त नगरपालिका ९ का वडा अध्यक्ष गगन कार्कीले कोरिडोर ट्रयाकमा सरसफाई गरी आवागमन गरिएको बताए ।
‘कोरिडोर नबनेसम्म आवागमन सहज हुने कुनै विकल्प नै छैन’ उनले भने ।



