महेन्द्रनगर असार ३१ । कञ्चनपुरको उत्तरी चुरेतटीय गैलनदी गाउँमा नेपाल प्रहरीको आधुनिक भवन निर्माण हुने भएको छ। बेदकोट नगरपालिका– ८, गैलनदीमा प्रहरीको आधुनिक अढाईतले भवन निर्माण हुने भएको हो। दुई वर्षअघि स्थायी प्रहरी चौकी स्थापना भएको गैलनदीमा अब स्थायी रूपमा प्रहरीको आफ्नै भवन निर्माण हुन लागेको छ। बेदकोट नगरपालिका– ८ का वडाध्यक्ष महेशराज जोशीले जमिनको भोगाधिकार पाएलगत्तै स्थायी प्रहरी चौकी निर्माण कार्य अघि बढेको बताए ।
उनका अनुसार कार्यालय प्रमुख, हल, कार्यालय, निवास, भान्साघर, स्टोरसहितको संरचना निर्माण हुनेछ। वडाध्यक्ष जोशीको पहलमा १५ जेठ ०८१ मा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी चक्रराज जोशीको पालामा अस्थायी प्रहरी चौकी स्थापना गरिएको थियो । त्यसपछि तत्कालीन एसपी खडकबहादुर खत्रीको पालामा आठ कट्टा जमिनको भोगाधिकार पाएसँगै स्थायी रूपमै प्रहरी चौकी स्थापना भएपछि नयाँ भवन निर्माण कार्य अघि बढेको बताए । वडाध्यक्ष जोशीले वडासहित गाउँको स्थानीय शान्ति सुरक्षाका लागि उतिवेला अस्थायी प्रहरी चौकी र अहिले स्थायी रूपमै स्थापना गरिएको बताए ।
‘चार वर्षअघि हामी निर्वाचित भएसँगै पहिलो वडा कार्यालयले प्रहरी चौकी स्थापना गर्ने निर्णय गरेका थियौँ,’ उनले भने, ‘वडा, पालिका हुँदै जिल्ला सुरक्षा समितिसम्मै निवेदन पेस गरेसँगै आज आएर प्रहरी चौकी स्थापना गर्न सफल भएका छौँ।’ ग्रामीण भेगका जनताको सुरक्षाका साथै गाउँमा हुने उच्छृंखल गतिविधि, लागुऔषधको गैरकानुनी गतिविधि नियन्त्रणका लागि प्रहरी चौकी अपरिहार्य भएकाले प्रहरी चौकी स्थापना गर्न सफल भएको वडाध्यक्ष जोशीले बताए ।
‘प्रहरीसहित हामीले वडाका सबै टोलमा सचेतीकरण अभियान थालेका छौँ,’ उनले भने, ‘गैरकानुनी काम स्वनियन्त्रणका लागि वडाका व्यवसायीसँग अनुरोध गर्छौँ, त्यहीअनुरूप थप अवान्छित गतिविधि रोक्छौँ ।’ उनले पछिल्ला दिनहरूमा वृद्धि भइरहेको गैरकानुनी गतिविधि लागुऔषधको सेवन, ओसारपसारजस्ता कामकारबाही नियन्त्रण गर्ने बताए ।
प्रहरी चौकी स्थापना भएसँगै गाउँमा शान्ति सुरक्षाका कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष जोशीले बताए । गाउँमा प्रहरी चौकी स्थापनार्थ पूर्वगृहमन्त्री रमेश लेखक, हालका मन्त्रीद्वय प्रतिभा रावल, गीता चौधरी, कञ्चनपुरका लेखा प्रशासन शाखा प्रमुख सइ धीरेन्द्र विष्ट, कार्यशाखा प्रमुख असइ सुरेन्द्रसिंह धामी, बेदकोट नगरपालिका, तत्कालीन कञ्चनपुरका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिप्रका, प्रदेश, केन्द्रीय प्रहरी, गृह मन्त्रालयका अधिकारीहरूको भूमिका रहेको भन्दै आभार प्रकट गरेका छन् ।
३१ असार ०८३ बुधबार एक कार्यक्रमबिच कञ्चनपुरका प्रहरी प्रमुख नेत्रमणि गिरीले भवनको शिलान्यास गर्दै नागरिक सुरक्षाका लागि प्रहरी बस्ने घर सुरक्षित बलियो हुनुपर्नेमा जोड दिए । एसपी गिरीले प्रहरी चौकी स्थापनासँगै ग्रामीण भेगको सुरक्षामा चनाखो हुनुपर्नेमा जोड दिएका छन् ।
बेदकोट नगरका सबइन्जिनियर महादेव जोशीले चर्चित काम गर्ने निर्माण कम्पनी मष्टा निर्माण बेतालमाण्डु जेभीले ३१ असार ०८३ मा सम्झौता गरेर ३१ असार ०८४ अर्थात् एक वर्षको अवधिमा निर्माण कार्यका लागि प्रदेश प्रहरीसँग सम्झौता गरेको बताए । दुई करोड ७४ लाखभन्दा बढी रकम स्टमेट भए पनि एक करोड ९३ लाख ८२ हजार ३७८ रुपैयाँमा सम्झौता भएको छ । दुई वर्षअघि अस्थायी रूपमा गैलनदीमा स्थापना भएको प्रहरी चौकीले गाउँको शान्ति सुरक्षामा भूमिका निर्वाह गरेको नागरिक समाजका अगुवाहरूको भनाइ छ ।




