इन्जिनियर दिवसमा संस्थागत विकासको नयाँ फड्को, सुदूरपश्चिममा प्रदेश कार्यालय उद्घाटन

Published by:

Published on:

हेन्द्रनगर
नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश समितिले ६४औँ इन्जिनियर दिवसको अवसरमा धनगढीमा नवनिर्मित प्रदेश कार्यालय भवनको उद्घाटन गर्दै सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ।

प्रदेश सभापति इ नवीनराज जोशीको सभापतित्व तथा केन्द्रीय अध्यक्ष इ सुवासचन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने इन्जिनियर, आर्किटेक्ट, सहयोगदाता र प्रायोजकलाई सम्मान गरिएको थियो। आयोजकका अनुसार दिवसका अवसरमा आयोजित कार्यक्रमहरूले सुदूरपश्चिमका इन्जिनियर तथा आर्किटेक्टहरूबीच पेशागत एकता, सहकार्य र संस्थागत विकासलाई थप मजबुत बनाएको छ।

धनगढी, कैलाली — नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश समितिले ६४औँ इन्जिनियर दिवसको अवसरमा २०८३ श्रावण ३ गतेदेखि ८ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ। श्रावण १० गते, दिवसका अवसरमा आयोजित विभिन्न खेलकुद तथा अन्य कार्यक्रमहरूको समापनसँगै एसोसिएसनको नवनिर्मित औपचारिक प्रदेश कार्यालयको उद्घाटन तथा ६४औँ इन्जिनियर दिवसको समापन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन तथा ६४औँ इन्जिनियर दिवस समापन समारोह प्रदेश सभापति इ। नवीनराज जोशीको सभापतित्व तथा नेपाल इन्जिनियर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष इ। सुवासचन्द्र बरालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै इ। सौरभ कलौनीले ६४औँ इन्जिनियर दिवसका अवसरमा प्रदेश समितिले आयोजना गरेका विभिन्न कार्यक्रम तथा प्रदेश कार्यालय भवन निर्माणमा सहयोग गर्ने सम्पूर्ण इन्जिनियर, आर्किटेक्ट, सहयोगी संस्था तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे।

कार्यक्रममा प्रदेश भवन निर्माणको संक्षिप्त विवरण तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै इ। कलेन्द्र खड्काले भवन निर्माणका क्रममा प्राप्त सहयोग, निर्माणको अवस्था तथा आर्थिक व्यवस्थापनबारे जानकारी गराएका थिए। उनले भवन निर्माणमा आर्थिक तथा अन्य माध्यमबाट सहयोग पुर्‍याउने सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टलगायत सहयोगी महानुभावहरूको योगदानको प्रशंसा गरे।

त्यसैगरी, इ प्रकाश उप्रेतीले कार्यक्रममा उपस्थित अतिथि, सहयोगदाता, प्रायोजक तथा भवन निर्माणमा योगदान पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरे। उनले प्रदेश समितिको कार्यालय भवन निर्माण तथा ६४औँ इन्जिनियर दिवस सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गरे।

प्रदेश कार्यालय भवन निर्माणका लागि विभिन्न इन्जिनियर तथा आर्किटेक्टहरूले आर्थिक सहयोग प्रदान गरेका थिए। साथै, ६४औँ इन्जिनियर दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रम सञ्चालन तथा व्यवस्थापनका लागि विभिन्न प्रायोजक तथा सहयोगी दाताहरूले समेत आर्थिक तथा अन्य सहयोग गरेका थिए। कार्यक्रममा भवन निर्माणका सहयोगदाता तथा इन्जिनियर दिवसका प्रायोजक तथा सहयोगी दाताहरूलाई सम्मानपत्र तथा मायाको चिनोसहित सम्मान गरिएको थियो।

कार्यक्रममा इन्जिनियरिङ क्षेत्रका अग्रज तथा विभिन्न तहका इन्जिनियर, आर्किटेक्ट, नेपाल इन्जिनियर्स एसोसिएसनका पदाधिकारी तथा सदस्यहरू, पूर्व पदाधिकारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सहयोगदाता, प्रायोजक तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। ६४औँ इन्जिनियर दिवसका अवसरमा श्रावण ३ गतेदेखि ८ गतेसम्म आयोजित विभिन्न कार्यक्रमले सुदूरपश्चिम प्रदेशका इन्जिनियर तथा आर्किटेक्टहरूबीच आपसी सहकार्य, भाइचारा र पेशागत एकतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ।

साथै, आफ्नै प्रदेश कार्यालय भवन निर्माण सम्पन्न भई औपचारिक रूपमा उद्घाटन हुनु सुदूरपश्चिम प्रदेशका इन्जिनियरिङ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।ई। नबिनराज जोशि को नेतृत्व मा सम्पुर्ण सहभागी हरुले नेतृत्व को प्रशन्सा गर्दै आफुहरु उत्साहित र हर्सित भएको अनुभव सुनाए ।

कार्यक्रमको सञ्चालन इ। सरोज देउवाले गरेका थिए। समारोहले इन्जिनियरिङ पेशाको गरिमा, पेशागत एकता तथा संस्थागत विकासलाई थप मजबुत बनाउँदै आगामी दिनमा नेपाल इन्जिनियर्स एसोसिएसन सुदूरपश्चिम प्रदेश समितिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धतासहित समापन भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार