कञ्चनपुरमा सशस्त्र प्रहरीद्वारा एक वर्षमा ११ करोड ७२ लाखको अवैध सामान बरामद

Published by:

Published on:

हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं। ३५ गण मुख्यालय शैलेश्वरीले आर्थिक वर्ष २०८२र०८३ मा ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सीमा सुरक्षा, तस्करी नियन्त्रण, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको गणले जनाएको छ ।

गणको २३ औँ स्थापना दिवसका अवसरमा सोमबार शुक्लाफाँटा नगरपालिका ५ वनसमिति स्थित गणको मुख्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा लागूऔषध सम्बन्धी ३१ घटनामा ५० जनालाई पक्राउ गरिएको छ । एक नाल भरुवा बन्दुक बरामद गरिएको छ भने बरामद भएका अवैध सामान सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ ।

समारोहमा गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले जिल्लाको समग्र शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, विशिष्ट व्यक्ति सुरक्षा, तस्करी नियन्त्रण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए । उनका अनुसार विपद्का ३४ घटनामा सुरक्षाकर्मी परिचालन गरी ४१ जनाको जीवित उद्धार गरिएको छ भने १० वटा शव खोजी तथा उद्धार गरिएको छ । विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १८ पटक नमुना अभ्यास र १७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी एक हजार २ सय ५५ जनालाई सहभागी गराइएको उनले जानकारी दिए ।

सीमा सुरक्षातर्फ १२ पटक सीमा पैदल गस्ती, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० सँग ६ वटा समन्वय बैठक तथा ५०० पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको विवरणमा उल्लेख छ । साथै १३ वटा सीमा स्तम्भ सशस्त्र प्रहरीले मर्मत तथा रंगरोगन गरेको तथा संयुक्त फिल्ड सर्वे टोलीमार्फत ५२ वटा सीमा स्तम्भ मर्मत, तीन वटा नयाँ सीमा स्तम्भ निर्माण र चार वटा सीमा स्तम्भ पुनर्निर्माण गरिएको जनाएको छ ।

समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत शुक्लाफाँटा र बेलौरी नगरपालिकाका ३८ जनालाई दुई चरणमा समुदाय विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ । विपद्को सूचना प्रणालीलाई प्रभावकारी बनाउन दुई हजार ५ सय ९२ जना विपद् सूचक तथा निर्वाचन प्रहरीलाई अभिलेखीकरण गरी निरन्तर सम्पर्कमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले बताए ।

स्थानीय तहसँगको सहकार्यमा दोधाराचाँदनी, भीमदत्त, पुनर्वास र बेलौरी नगरपालिकाबाट चार वटा रबर राफ्ट बोट प्राप्त भएपछि महाकाली नदीमा आएको बाढीका क्रममा दुई जनाको सकुशल उद्धार गर्न सफल भएको उनले बताए । सीमावर्ती क्षेत्रमा स्वास्थ्य शिविर, भारतको एसएसबीसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता, युवालाई केशकर्तन तालिम तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन गरिएको उनले जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८३र०८४ को साउन महिनाको हालसम्म मात्रै पनि ५० लाख २६ हजार १ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि गणले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं। ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले सीमा सुरक्षासँगै मानवीय सेवामा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी बन्दै गएको बताए । उनले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी र विपद् व्यवस्थापनमा स्थानीय तह, प्रशासन तथा नागरिकसँगको समन्वयलाई थप सुदृढ बनाउन निर्देशन दिए । प्राप्त उपलब्धिलाई कायम राख्दै अझ व्यावसायिक, अनुशासित र परिणाममुखी ढंगले सेवा प्रवाह गर्न उनले मातहतका सुरक्षाकर्मीलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कञ्चनपुरको शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको बताए । जिल्लामा हुने विपद्, उद्धार तथा सीमावर्ती चुनौती सामना गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय प्रशासनबीचको समन्वयले सकारात्मक परिणाम दिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नागरिकको सुरक्षा र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

स्थापना दिवस समारोहमा विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा विपद् सूचकलाई सम्मान गर्नुका साथै गणले वर्षभरि गरेका गतिविधिबारे जानकारी गराइएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार