महेन्द्रनगर भदौ ७ । सप्तरीको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकमा दुई वर्षीया बालिका घरपछाडिको झाडीमा मृत फेला परेकी छन्।
मोहम्मद इरफानकी छोरी खुशी भनिने सानिया खातुन आइतबार बिहानदेखि हराएकी थिइन्। परिवारले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो।
खोजीका क्रममा बालिका आफ्नै घरको पछाडिपट्टिको झाडीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले घरकै एक व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। ती व्यक्तिको हाउभाउ तथा गतिविधि शंकास्पद देखिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।
बालिकाको मृत्युको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक रूपक खड्कासहितको अनुसन्धान टोली पुगेको छ।
प्रहरीले घटनास्थलको मुचुल्का तयार पार्नुका साथै मृत्युको कारण र घटनाको वास्तविकताबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।



