महेन्द्रनगर २०८३ भाद्र २६ । जिल्ला अदालत कञ्चनपुरले धरौटीमा छाड्न आदेश दिएपछि दोधारा चाँदनीका पत्रकार पप्पु गुरुङ्ग प्रहरी हिरासतबाट छुटेका छन् ।
पत्रकार गुरुङ्गलाई साइबर सम्बन्धि अपराधमा अनुसन्धान गरी शुक्रबार जिल्ला अदालतमा मुद्दा पेश गरिएको थियो ।
अदालतले थुनछेक बहसमा गुरुङ्गलाई १० हजार धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
अदालतले तोकेको धरौटी बुझाएर गुरुङ्ग प्रहरी हिरासत मुक्त भएका हुन् ।पत्रकार गुरुङ्गले सामाजिक सञ्जालमा एसपी र डीएसपीको सेटिङ्गमा मध्यरात ब्राउन सुगर कारोबार हुने गरेको भन्दै स्टयाटश लेखेपछि प्रहरीले उनीमाथि साइबर सम्बन्धि अपराधमा जाहेरी दर्ता गरी अनुसन्धान गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले भदौ १२ गते गुरुङ्गलाई कार्यालयमा उपस्थित हुन जानकारी पठाएको थियो ।
उनी कार्यालय नआएपछि भदौ १६ गते प्रहरी प्रतिवेदनका आधारमा साइबर सम्बन्धि अपराधमा जाहेरी दर्ता गरिएको थियो ।जाहेरी दर्ताको तीन दिनपछि गुरुङ्गलाई घरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान सुरु गरिएको थियो ।
प्रहरीले अलदालतबाट दुई पटक म्याद लिएर गुरुङ्गमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । शुक्रबार १० औं दिनमा गुरुङ्ग अदालतको आदेश छुटेका हुन् । दोधारा चाँदनी नगरपालिका ७ का गुरुङ्ग लामो समयदेखि दोधारा चाँदनी क्षेत्रमा पत्रकारिता गर्दै आएका छन् ।



