महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ बाट १९ वर्षिया एलिना चौधरी काँग्रेस क्षेत्रीय प्रतिनिधि भएकी छन् ।
काँग्रेस संस्थापन इतर समूहको १५ औं महाधिवेशन अन्र्तगत बिहीबार भएको वडा अधिवेशनमा चौधरी सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चुनिएकी हुन् ।
काँग्रेस क्रियाशिल सदस्यता लिएपछि पहिलो पटक अधिवेशनमा भाग लिएर पहिलो प्रयासमा क्षेत्रीय प्रतिनिधि भएकी छन् ।
वडा अधिवेशनबाट वडा समिति र क्षेत्रीय प्रतिनिधि सबै सर्वसम्मत चयन भएका छन् । कञ्चनपुर उद्योग बाणिज्य संघको सभा कक्षमा वडा अधिवेशन गरिएको छ ।
क्षेत्रीय प्रतिनिधिमा सबैभन्दा कम उमेरकी चौधरी नव युवा क्लस्टरबाट निर्विरोध भएकी छन् । चौधरी भीमदत्त नगरपालिका १८ भगतपुरकी हुन् । उनी सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकाय चौथो सेमेस्टरमा अध्ययनरत छन् ।
स्नातक तह अध्यनरत उनी राजनीतिमा सक्रिय भएर सामाजिक सेवा गर्ने सोच बनाएर आएको बताउँछिन् ।विश्वविद्यालय अध्ययन गर्न थालेपछि राजनीतिमा लाग्ने सोच आएको उनले बताइन् । ‘पढाईसंगै राजनीतिलाई पनि सामाजिक सेवाको रुपमा अँगाल्दै अगाडि बढ्न चाहन्छु’ उनी भन्छिन् ।
विश्वविद्यालयमा उनी युथ म्यापर्सको सचिव छन् । राजनीतिमा युवा आउनु पर्ने आवश्यकता भएको चौधरीले बताइन् ।चौधरीका बुवा बेदप्रकाश चौधरीले छोरीले राजनीति गर्ने सोच बनाएकोमा खुसी व्यक्त गरे ।
‘राजनीति भनेको ठूलो समाज सेवा हो, देश बनाउने भनेकै युवाले हो, छोरी पढाईसंगै राजनीतिमा लाग्दा खुसी नै छौ’ उनले भने ।चौधरी आफू पनि समाज सेवा र राजनीति दुबैमा सक्रिय छन् । अहिले एलिना विद्यार्थी जीवनबाट राजनीतिमा आएकी छन् ।
वडा अधिवेशनबाट कृष्णराज कलौनी सर्वससम्मत वडा सभापति चुनिएका छन् । भीनपा १८ बाट चौधरी सहित ४१ क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।



