आफू कारागार हुँदा गरेकोले भाकल पूरा गर्न भारत जान लागेको हुँ ः सभापति लामिछाने

Published by:

Published on:

महेन्द्रनगर असोज ६ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने पश्चिमी नाका गड्डाचौकी हुँदै भारत प्रस्थान गरेका छन् ।तीन दिने भारत भ्रमणका लागि शुक्रबार बिहान धनगढी पुगेका लामिछाने केही समय अघि गड्डाचौकी नाका भएर भारतीय सीमावर्ती सहर वनबासा निस्किएका हुन्।

रास्वपा नेताहरुले सभापति लामिछानेलाई विदाई गरेका छन् । कञ्चनपुर प्रहरी प्रमुख नेत्रमण गिरी, सशस्त्र प्रहरीका एसपी सहित सुरक्षा अधिकारी पनि गड्डाचौकी पुगेका छन् ।सभापति लामिछाने धनगढी विमानस्थलमा आफू पारिवारिक भ्रमणका लागि भारत जान लागेको बताएका छन् । श्रीमती निकिता पौडेल सहित धनगढी पुगेका उनलाई नेता कार्यकर्ताले स्वागत गरेका थिए ।

भारतका विभिन्न धार्मिक स्थल तीर्थाटनका लागि सभापति लामिछाने भारत गएका छन् । भारतको उत्तराखण्डस्थित नैनीताल, कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम भएको लामिछानेले बताएका छन् ।

धनगढी विमानस्थलमा लामिछानेले व्यक्तिगत भ्रमण भएकाले कसैलाई ‘खिचडी नपकाउन’ अनुरोध गरेका छन् ।

आफू कारागार हुँदा नै उत्तराखण्डको नैनीतालस्थित कैचीँधाम जाने भाकल गरेकोले सोही पूरा गर्न जान लागेको उनले बताए। ‘व्यक्तिगत भ्रमणमा छु । पहिल्यादेखि जाने भाकल पनि थियो । धार्मिक आस्था विश्वास, मेरो परिवार पनि आध्यामिक भएकाले पहिलादेखि जाउँला भन्ने थियो,’ उनले भने, ‘म कारागारमा हुँदा नै गरेको भाकल पूरा गरौँ भन्ने हो ।’

कैंची धाम र कामाख्य मन्दिर नै किन रोज्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भाकल पूरा गर्न जान लागेको बताए । उनले आफ्नो कुनै राजनीतिक भ्रमण नभएको स्पष्ट पारे ।

‘राजनीतिक भेटघाट केही छैन । व्यक्तिगत भ्रमण भएकाले कसैलाई खिचडी नपकाउन आग्रह गर्छु,’ उनले भने, ‘राजनीतिक र व्यक्तिगत भ्रमणलाई अलग्याउन आग्रह गर्दछु ।’

धनगढी विमानस्थलमा सभापति लामिछानेसँगै भूमि व्यवस्था तथा सहकारी संघीय मामिलामन्त्री प्रतिभा रावल र सांसद दीपक बोहोरा पनि थिए ।

लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार