काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४.८ किलोग्राम थाई गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको केरला, मुलरिया ठेगाना भएका २९ वर्षीय अब्दुल नौशाद छन् । उनलाई मंसिर ८ गते लागु औषध नियन्त्रण ब्युरोको विमानस्थलस्थित शाखा कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
ब्युरोका अनुसार हवाई मार्गबाट नेपाल प्रवेश गर्ने शंकास्पद यात्रुको निगरानी गर्ने क्रममा नौशादको साथबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।
उनी बाटिक एयरको ओडी १८२ नम्बरको उडानमार्फत थाइल्यान्डबाट मलेसियाको क्वालालम्पुर हुँदै काठमाडौँ आएका थिए ।
प्रहरीले उनको साथबाट एक थान राहदानी र एक थान मोबाइलसमेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन् ।



