महेन्द्रनगर । भीमदत्त नगरपालिकाले यस वर्ष नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आधारभूत तहको प्रतियोगितालाई समावेश गरेको छ । भीमदत्तले पुस २० देखि २४ गतेसम्म नगर स्तरीय १५ औं राष्ट्रपति रनिड्ड शिल्ड छनौट प्रतियोगिता तथा आधारभूत विद्यालय स्तरीय खेलकूद प्रतियोगिता आयोजना गर्न लागेको हो ।
यस वर्ष पहिलो पटक आधारभूत विद्यालय स्तरीय खेलकूद प्रतियोगिता समावेश गरिएको भीमदत्त नगर खेलकूद विकास समितिका अध्यक्ष शरद चन्दले बताए ।
‘अहिलेसम्म कक्षा ९ र १० का विद्यार्थीहरुलाई मात्रै सहभागी गराएर राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता हुँदै आएको थियो, यस वर्ष आधारभूत तह कक्षा १–८ लाई पनि समावेश गरिएको छ’ अध्यक्ष चन्दले भने ।
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सबै विद्यालयहरु बन्द हुने भएकाले आधारभूत तहका विद्यार्थीहरुको प्रतिभालाई पनि बाहिर ल्याउन आधारभूत तहलाई समावेश गरिएको उनको भनाई छ ।
अध्यक्ष चन्दका अनुसार आधारभूत तहको प्रतियोगिता खुला मञ्च र माध्यमिक तहको प्रतियोगितामा कबर्ड हलमा गर्ने तयारी गरिएको छ ।
आधारभूत तहमा एथ्लटिक्स, लङ्गजम्प र कबड्डीका खेलहरु समावेश गरिएका छन् । त्यसमा एक सय मिटर, दुई सय मिटर, चार गुणा एक सय मिटर दौड सहित जङ्ग जम्प र कबड्डी खेल समावेश गरिएका छन् ।
प्रतियोगितामा भीमदत्त नगरपालिकामा सामुदायिक ५७ र संस्थागत ६९ सबै विद्यालयलाई सहभागिताका लागि पत्राचार गरिएको छ । गत वर्ष प्रतियोगितामा ४८ विद्यालय सहभागी भएका थिए ।
प्रतियोगिताबाट जिल्ला स्तरीय प्रतियोगिताका लागि खेलाडी छनौट हुने छन् । प्रतियोगितामा विजयी आधारभूत तहका विद्यार्थीलाई मेडल र प्रमाण पत्र दिइने अध्यक्ष चन्दले बताए ।
प्रतियोगितामा मञ्च व्यवस्थापन, पुरस्कार, सचिवालय गठन, विद्यालयलाई सहभागिताका लागि पत्राचार लगायतका तयारी गरिएका छन् । प्रतियोगितामा २० लाख खर्च हुने अनुमान गरिएको छ ।



