महेन्द्रनगर माघ २९ । कञ्चनपुरको महेन्द्रनगरस्थित सीएमजी क्लब क्यासिनोसँग सम्बन्धित आर्थिक विवाद सार्वजनिक भएको छ। क्यासिनोसँग सम्बन्धित विभिन्न कर्मचारी तथा सापटी दिने व्यक्तिहरूले पाँच करोड २९ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता लिन बाँकी रहेको दाबी गर्दै आफूहरू ठगिएको आरोप लगाएका छन्।
पीडितहरूले पत्रकार सम्मेलनमार्फत उक्त विषय सार्वजनिक गरेका हुन् । पीडित पक्षका अनुसार क्यासिनो सञ्चालनका क्रममा कर्मचारी तथा चिनजानका व्यवसायीमार्फत पटक–पटक रकम सापटी लिने गरिएको थियो । विश्वासका आधारमा उपलब्ध गराइएको रकम लामो समय बित्दासमेत फिर्ता नभएको उनीहरूको भनाइ छ । क्यासिनोका सञ्चालक नरेन्द्र साह हाल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट सर्लाही–३ का उम्मेदवार रहेका छन् ।
यसअघि पनि उनी सो क्षेत्रबाट निर्वाचन लडेका थिए तर पराजित भएका थिए । सोही चुनावको समयमा समेत सञ्चालक साहले क्यासिनोका कर्मचारीमार्फत करोडौँ रकम खोजेर पठाउन लगाएको आरोप लगाइएको छ । चुनावी अभियान चलिरहेका बेला कञ्चनपुरमा उनीसँग सम्बन्धित आर्थिक दाबीहरू बाहिर आएका हुन् ।
क्यासिनोमा कार्यरत राजेन्द्र कुमार ९कुली० ले आफूले कम्पनीलाई आवश्यक पर्दा १० लाख रुपैयाँ उपलब्ध गराएको तर हालसम्म फिर्ता नपाएको बताए । रकम दिएको प्रमाण आफूसँग रहेको उल्लेख गर्दै उनले अहिले रकम माग्दा बेवास्ता गरिएको आरोप लगाए । त्यस्तै, क्यासिनोमा पुजारीको जिम्मेवारी सम्हाल्दै आएका भोजराज भट्टले विभिन्न चरणमा गरी ३४ लाख रुपैयाँ सापटी दिएको र हालसम्म फिर्ता नपाएको दाबी गरेका छन् । विगतमा समयमै फिर्ता हुने विश्वासका आधारमा रकम दिएको उनले बताए । साथै केही महिनादेखिको तलबसमेत नपाएको उनको भनाइ छ ।

क्यासिनोका डान्स म्यानेजरका रूपमा कार्यरत रहेका नवराज श्रेष्ठका अनुसार नगद रकमसहित १७ महिनादेखि डान्सरहरूको तलब भुक्तानी हुन बाँकी छ । रकम माग्दा दबाब र धम्कीसमेत आउने गरेको उनले बताएका छन् । पूर्व म्यानेजर सूर्यकमल श्रेष्ठ हिमाल ले सञ्चालक पक्षले लामो समयदेखि हिसाब–किताब नबुझेका कारण समस्या जटिल बनेको बताएका छन् ।
उनका अनुसार क्यासिनोमा नगद अभाव हुँदा स्थानीय व्यक्तिहरूबाट रकम जुटाएर सञ्चालन गरिएको र उठेको रकम सञ्चालक साहकै निर्देशनमा प्रयोग तथा पठाइएको थियो । उनले सञ्चालक साहलाई पटक–पटक हिसाब बुझ्न र तिर्नुपर्ने रकम भुक्तानी गर्न आग्रह गर्दा उल्टै आफूलाई जागिरबाट हटाउने, गलत र अनावश्यक आरोप लगाउने, हिसाब नबुझ्ने तथा डर–धम्की दिने कार्य भइरहेको दाबी गरे ।

श्रेष्ठका शब्दमा, “सञ्चालक साहले हिसाब नबुझ्ने, डर–धम्की दिने र अनावश्यक आरोप लगाउने काम गरिरहनु भएको छ । मैले पटक–पटक हिसाब बुझ्न आग्रह गरेको छु र अझै पनि आग्रह गर्दै आएको छु ।” उनले उपलब्ध गराएको विवरणअनुसार विभिन्न व्यक्तिहरूको लाखौँ रकम क्यासिनोले तिर्न बाँकी रहेको छ । केही विदेशी नागरिकको रकमसमेत बक्यौता रहेको दाबी गरिएको छ भने केही व्यक्तिको आंशिक भुक्तानी गरिएको जनाइएको छ ।
स्रोतका अनुसार सञ्चालक तथा क्यासिनो विरुद्ध राजश्व अनुसन्धान आयोगमा समेत उजुरी परेको छ । यता क्यासिनो व्यवस्थापन पक्षका एक कर्मचारीले भने पूर्व म्यानेजर श्रेष्ठले नै क्यासिनोको नाममा रकम उठाएर हिनामिना गरेको आरोप लगाएका छन् । उनीविरुद्ध कानुनी कारबाहीको तयारी भइरहेको व्यवस्थापन पक्षको भनाइ छ । सञ्चालक नरेन्द्र साहसँग प्रतिक्रिया लिन प्रयास गर्दा सम्पर्क हुन सकेन । सर्लाही–३ क्षेत्रमा विभिन्न दलका शीर्ष नेतासहित दर्जनौँ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

