समाचार फलोअप ः महेन्द्रनगर बैशाख ३ । श्रीमतीलाई नियमविपरीत जागिरमा नियुक्त गरेको आरोपमा कञ्चनपरका एक हाकिमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरमा उजुरी दर्ता भएको छ।
उजुरीमा उल्लेख भएअनुसार महाकाली आयुर्वेद औषधालयका कार्यालय प्रमुख सुर्य उपाध्ययाले आफ्नो पद, अधिकार र प्रभावको दुरुपयोग गर्दै सार्वजनिक पदको मर्यादा विपरीत आफ्नै श्रीमतीलाई जागिरमा नियुक्त गराएको आरोप लगाइएको छ।
उक्त कार्यले सरकारी सेवामा अपनाउनुपर्ने पारदर्शिता, प्रतिस्पर्धा र योग्यता प्रणालीलाई गम्भीर रूपमा प्रभावित पारेको उजुरीकर्ताको भनाइ छ। उजुरीमा यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को प्रावधानविपरीत रहेको उल्लेख गरिएको छ। उक्त ऐनअनुसार सार्वजनिक पदमा बसेका व्यक्तिले आफ्नो पदको दुरुपयोग गरी आफू वा आफ्ना नजिकका व्यक्तिलाई अनुचित लाभ दिलाएमा त्यो भ्रष्टाचारको कसुर मानिन्छ।
साथै, सरकारी नियुक्तिमा समान अवसरको सिद्धान्त उल्लङ्घन हुनु पनि गम्भीर विषय मानिन्छ। उजुरीकर्ताले सम्बन्धित नियुक्ति प्रक्रिया निष्पक्ष नभएको, खुला प्रतिस्पर्धा बिना वा नियम मिचेर गरिएको हुन सक्ने आशंका व्यक्त गर्दै सम्पूर्ण प्रक्रिया छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले उक्त नियुक्ति खारेज गर्नसमेत माग गरेका छन्।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले उजुरी प्राप्त भएको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान प्रक्रिया अघि बढाइएको
अख्तियार दुरुपयोग अनुशन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी चेतराज भटले बताउनु भयो । आयोगका अनुसार उजुरीको आधारमा सम्बन्धित निकायबाट कागजात झिकाउने, सम्बन्धित व्यक्तिसँग बयान लिने तथा प्रमाण संकलन गर्ने काम अघि बढाइने बताए । यदि छानबिनका क्रममा आरोप प्रमाणित भएमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा जरिवाना हुने व्यवस्था रहेको छ।
साथै, दोषी ठहरिएमा पदबाट हटाउने वा अन्य प्रशासनिक कारबाहीसमेत हुन सक्ने कानुनी व्यवस्था छ। यस घटनाले सरकारी कार्यालयहरूमा नातावाद र कृपावाद बढ्दै गएको विषयलाई पुनः सतहमा ल्याएको छ। सरोकारवालाहरूले यस्ता गतिविधिले योग्य र प्रतिस्पर्धी व्यक्तिहरूलाई अवसरबाट वञ्चित गर्ने तथा राज्यप्रति जनविश्वास कमजोर बनाउने बताएका छन्। सामाजिक अभियन्ताहरूले सरकारी सेवामा निष्पक्षता कायम गर्न यस्ता घटनामा कडा निगरानी र छानबिन आवश्यक रहेको औंल्याएका छन्। उनीहरूले पारदर्शी भर्ती प्रक्रिया लागू गर्न र दोषीलाई उदाहरणीय कारबाही गर्न माग गरेका छन्।
