महेन्द्रनगर बैशाख १६ । कैलाली र कञ्चनपुर क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका पहेँलो नम्बर प्लेटका भारतीय ट्याक्सीमार्फत नेपालमा लागूऔषध भित्रिने गरेको तथ्य सार्वजनिक भएको छ ।
सीमावर्ती नाकाबाट नेपाली यात्रुलाई भारतका विभिन्न सहरसम्म ओसारपसार गर्ने नाममा सञ्चालन हुने यस्ता ट्याक्सीहरू लागूऔषध तस्करीमा समेत प्रयोग हुँदै आएको खुलासा भएको हो ।
बुधबार कञ्चनपुरको गड्डाचौकी नाकामा प्रहरीले लागूऔषधसहित भारतीय नम्बर प्लेटको ट्याक्सी नियन्त्रणमा लिएको छ । भारतबाट महेन्द्रनगरतर्फ आउँदै गरेको युके ०३ टिए ७७२७ नम्बरको ट्याक्सीमा सिटमुनि लुकाएर ल्याइएको अवैध लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ बडैपुर निवासी २९ वर्षीय चालक रविन बिष्ट लाई पक्राउ गरिएको हो । उनको साथबाट ५ दशमलव ०६ ग्राम खैरो हिरोइन र २२ पिस स्पास बरामद गरिएको प्रहरीले जनाएको छ ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय पहेँलो नम्बर प्लेटका भारतीय सवारीसाधन निर्बाध सञ्चालन हुँदै आएका छन् । यस्ता गाडीले यात्रु ओसार्ने बहानामा लागूऔषध लगायत अवैध सामग्री नेपाल भित्र्याउने गरेको सुरक्षा निकायको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
स्थानीयवासीले समेत भारतीय ट्याक्सीहरूको गतिविधिमाथि निगरानी बढाउन माग गरेका छन् ।
खुला सीमाको फाइदा उठाउँदै लागूऔषध कारोबारी सक्रिय बनेपछि सीमा क्षेत्रमा सुरक्षा चुनौती थपिएको सरोकारवालाहरू बताउँछन् । प्रहरीले पक्राउ परेका चालक र बरामद लागूऔषधबारे थप अनुसन्धान भइरहेको जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ को दफा २९, ३० र ८१ का साथै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को दफा ३२ मा रहेको व्यवस्था तथा प्रदेश सम्बन्धित ऐन समेतको आधारमा २०८२ माघ ७ गतेको यातायात व्यवस्था विभागको निर्णयअनुसार यात्रुवाहक सवारी साधन नियमन गर्न नेपाल भारतबीच सन् २०१४ मा भएको सम्झौता अनुसार सञ्चालित सवारी बाहेकका विदेशी सवारीले नेपालमा नियमित यातायात सेवा सञ्चालन गर्ने अनुमती नपाउने प्रष्ट उल्लेख छ ।
तर, यहाँ भने उक्त निर्णयको धज्जी उडाउँदै नेपाली भूमिमै धनगढी र महेन्द्रनगर बजार क्षेत्रमा पहेँलो नम्बर प्लेटका भारतीय ट्याक्सीहरु पार्किङ गरी यात्रुका साथै अवैध लागूपदार्थको ओसारपसार गर्ने गरिएको छ । पहेँलो नम्बर प्लेटका भारतीय ट्याक्सीका सम्बन्धमा जिम्मेबार प्रहरी प्रशासनले ध्यान नदिँदा यहाँको सरक्षा चुनौती बढानुका साथै अवैध लागूऔषध भित्रने चिन्ता सरोकारवालाले गरेका छन् ।
