एसइईको ०८२ को नतिजामा कञ्चनपुरका चार सरकारी विद्यालय नील

Published by:

Published on:


मोहन बिष्ट महेन्द्रनगर जेठ १ । माध्यमिक परीक्षा शिक्षा ९एसइई०मा कञ्चनपुरका चार सरकारी विद्यालय नील भएका छन् । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइई ०८२ को परीक्षाफलअनुसार जिल्लाका चार विद्यालय नील भएका हुन् ।

सरकारी लगानीमा सञ्चालित चार विद्यालयले शून्य नतिजा ल्याएको शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरले जनाएको छ । शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार भीमदत्त नगरपालिका र लालझाडी गाउँपालिका चार सामुदायिक विद्यालयले शून्य नतिजा ल्याएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइको तथ्यांकअनुसार भीमदत्त नगरपालिका– ३ तिलकपुरको बैजनाथ मावि, तिलाचौरको महाकाली शारदा पीठ विद्याआश्रम र लालझाडी गाउँपालिका– ३ छोटी पर्सियाको सरस्वती मावि र लालझाडी– ४ पर्सियाकै सरस्वती मावि नील भएका हुन्। भीमदत्तको बैजनाथ माविका पाँच, महाकाली शारदापीठ विद्याआश्रमका दुई, लालझाडीको छोटी पर्सिया सरस्वती माविका ४४, पर्सियाको सरस्वती माविका २७ पूरै विद्यार्थी फेल भएका छन् ।

०८१ को एसइई नतिजामा लालझाडीसहितका जिल्लाका पाँच विद्यालय नील भएका थिए भने ०८२ मा पनि चार विद्यालय नील भएका छन् । एसइई ०८० मा पनि लालझाडीका दुई विद्यालय नील भएका थिए । ०८१ मा १ र ०८२ मा अहिले दुई विद्यालय नील भएका हुन् । लालझाडी गाउँपालिकामा विगत तीन वर्षदेखि सरकारी विद्यालय नील हुने क्रम निरन्तर जारी छ । ०८० मा लालझाडी गाउँपालिका– ३ छोटी पर्सियाको सरस्वती मावि, ४ बैजनाथ मावि जाई, ०८१ मा नौरङगाको शारदा राष्ट्रिय मावि, अहिले ०८२ मा फेरि छोटी पर्सियाको सरस्वती मावि र पर्सियाको सरस्वती मावि नील भएका हुन् । दुई वर्षअघि छोटी फर्सियाकै सरस्वती माविका २०, लालझाडीकै जाई बैजनाथ माविका र ०८१ मा नौरङगाको शारदा राष्ट्रिय माविका ३६ पूरै विद्यार्थी फेल भएका थिए ।

लालझाडी गाउँपालिकासहित कञ्चनपुरका सरकारी लगानीमा सञ्चालनमा रहेका विद्यालय रहेक वर्ष एसइईमा नील हुने क्रम अझै रोकिएको छैन । ०८० र ०८२ को एसइई परीक्षामा विद्यालय नील भएका लालझाडी छोटी फर्सिया सरस्वती माविमा प्रधानाध्यापक तारामणि शर्माले दुई वर्ष अनपेक्षित परिमाण आएको बताए । ‘०८० मा अनपेक्षित परिमाण आएपछि हामीले मिहिनेत गरेर ०८१ मा राम्रो नतिजा ल्याएका थियौँ,’ उनले भने, ‘हामीले शैक्षिक कामकाज गर्नका लागि अतिरिक्त कक्षा पनि सञ्चालन गर्‍यौैँ, तैपनि अनपेक्षित परिमाण आयो, यसबारे समीक्षा गर्छु, म नैतिकताका आधारमा राजीनामा पनि दिन्छु ।’ शिक्षकहरूकै कमी–कमजोरीका कारण यस्तो नतिजा आउन लागेको उनले दुखेसो पोखेका छन् । ‘विद्यार्थी, अभिभावक, समुदाय, सरकारलाई दोषी दिएर काम छैन,’ उनले भने, ‘हामीहरूकै कमजोरीले यस्तो नतिजा आयो, सुधार गर्छौैँ, स्वीकार गर्छौँ ।’

लालझाडी गाउँपालिका प्रमुख निर्मल रानाले नील हुने क्रम रोक्नकै लागि पालिका सरकारबाट सामुदायिक विद्यालयका अतिरिक्त कक्षा सञ्चालनदेखि थप सेवा सुविधा बढाए पनि नील हुने क्रम नरोकिएकाले कारबाहीको चेतावनी दिएका छन् । भीमदत्त नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले शून्य नतिजादेखि कमजोर नतिजा ल्याउने विद्यालयसँग स्पष्टीकरण सोधिने बताए । नगर प्रवक्ता पदमराज अवस्थीले पालिकाले नतिजाकै आधारमा यस वर्षदेखि विद्यालयमा दरबन्दी मिलानलगायतका सुधारका कार्यक्रम गरेको बताए ।

शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले राज्यको लगानीमा सञ्चालित विद्यालयको नतिजा शून्य हुनु दुखद विषय भएको बताए । उनले महाकाली शारदापीठ विद्याआश्रमको प्राविधिक त्रुटिले शून्य नतिजा आएको भए पनि सच्याउन पत्राचार गरिएको बताए । सामुदायिक विद्यालयमा दरबन्दीदेखिका विविध विषयगत शिक्षकले ध्यान नदिँदाको परिमाण नतिजा शून्यदेखि स्तरीय नआएको बताए ।

‘शून्य नतिजा ल्याउने विद्यालयमा हामीले पत्राचार गरेरै स्पष्टीकरण सोध्छौँ,’ उनले भने, ‘बाँकी कमजोर नतिजा आएका विद्यालयदेखि अन्य सबै विद्यालयका प्रअसँग बैठक राखेर नतिजाबारे समीक्षा राखेर सुधार गर्ने योजना अघि सारेका छौँ ।’ सरकारी विद्यालयको नतिजा नाजुक आएपछि अभिभावक हैरान भएका छन् । अभिभावकले राज्यको लगानी खेर गएकोदेखि विद्यार्थीमाथि अन्याय हुँदासमेत सरोकारवाला नयाँ योजना ल्याउनुको साटो मौन रहेको भन्दै दुखेसो पोखेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार