कञ्चनपुर उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई पाँच थान होन्डा साइकल र पाँच थान लागुऔषध परीक्षण किट सहयोग गरेको छ।
महेन्द्रनगर बजार क्षेत्रमा गस्तीलाई प्रभावकारी बनाउन तथा लागुऔषध नियन्त्रणका लागि परीक्षण किट उपलब्ध गराइएको संघले जनाएको छ।
सोमबार आयोजित एक कार्यक्रमबिच कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले प्रमुख जिल्ला अधिकारी मदन कोइराला र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नेत्रमणि गिरीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्।
संघका प्रमुख कार्यकारी अधिकृत हेमराज भट्टले बजार क्षेत्रमा गस्ती सुदृढ गर्नुका साथै लागुऔषधको पहिचान र नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले साइकल र परीक्षण किट उपलब्ध गराइएको बताए।
साइकल ग्रहण गर्दै एसपी नेत्रमणि गिरीले छोटो दूरीमा गस्ती सञ्चालन गर्न साइकल उपयोगी हुने उल्लेख गर्दै आवश्यकताअनुसार साइकलमार्फत गस्ती परिचालन गरी अपराध नियन्त्रणलाई प्रभावकारी बनाइने विश्वास व्यक्त गरे।
प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निजी क्षेत्रबाट प्राप्त स्रोत–साधनको सदुपयोग गर्दै समुदायमा हुने अपराधजन्य गतिविधि नियन्त्रण र नागरिक सुरक्षामा प्रहरी थप सक्रिय हुने बताए।
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंगबहादुर मल्लले संघको सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरीलाई उक्त सहयोग गरिएको बताए। उनले विगतदेखि नै संघले प्रहरीको गस्ती व्यवस्थापनका लागि विभिन्न भौतिक सामग्री सहयोग गर्दै आएको पनि जानकारी दिए।




