दार्चुला । छिमेकी देश भारत र चीनसँग सीमा जोडिएको दार्चुलाका नागरिक आफ्नै भूमिको व्यासक्षेत्र जान पनि भारतीय मार्गकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।
व्यासक्षेत्र जाँदा नेपालतर्फ मान्छे मात्रै हिँड्न मिल्ने साँघुरो बाटो छ । मोटरमार्ग नभएका कारण यहाँका व्यास गाउँपालिका–१, छाङरु र तिङ्कर गाउँमा बसोबास गर्ने सौका समुदायका मानिस अहिले पनि भारतीय मार्गकै प्रयोग गरेर व्याससम्म पुग्न बाध्य छन् । स्थानीय बासिन्दा चैतरवैशाखमा व्यास जाने र कात्तिक÷मङ्सिरमा खलङ्गा झर्ने गर्छन् । उनीहरू छ महिना व्यास र छ महिना खलङ्गामा बस्ने गर्छन् । उनीहरू विगतदेखि नै भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । भारतले बाटो प्रयोग अनुमतिपत्र नभएका नागरिकलाई बाटो प्रयोग गर्नसमेत दिँदैन ।
आर्थिक वर्ष २०८२र८३ मा दुई हजार ८३६ नागरिकले व्यासक्षेत्र जान बहुयात्रा अनुमतिपत्र लिएका छन् । भारतको बाटो हुँदै व्यासक्षेत्र पुग्नका लागि भारतीय बाटो प्रयोग गर्न जारी गरिने अनुमतिपत्रलाई बहुयात्रा अनुमतिपत्र भनिन्छ । बहुयात्रा अनुमतिपत्र जिल्ला समन्वय समितिको कार्यालयबाट जारी हुने तथा अध्यागमन कार्यालयले प्रमाणित गरी अभिलेख राख्ने गरेको अध्यागमन तथा सीमा प्रशासन कार्यालय तिङ्करका निमित्त कार्यालय प्रमुख गोपालसिंह बोहोराले जानकारी दिए।
अध्यागमन तथा सीमा प्रशासन कार्यालयको अभिलेख अनुसार एक वर्षमा दुई हजार ३७३ पुरुष र ४६३ महिलाले बहुयात्रा ९भारतीय बाटो प्रयोग० अनुमतिपत्र बनाएका हुन् । नेपालको अध्यागमन कार्यालयले प्रमाणीकरण गरेपछि स्वीकृतिका लागि भारतको धार्चुलास्थित तहसिल कार्यालय जानुपर्ने तथा त्यहाँको एसडिएमले स्वीकृति दिएपछि मात्रै बाटो प्रयोग गर्न मिल्छ । कहिलेकाहीँ भारतीय पक्षले ढिला गरी अनुमति दिने गर्छ ।
नेपालतर्फ पैदलबाटो भए पनि छिटो र सजिलोका लागि व्यासक्षेत्र जाने नागरिकले भारतीय बाटो प्रयोग गर्दै आएका हुन् । भारततर्फ धार्चुलादेखि सीतापुलसम्म गाडीको सुविधा उपलब्ध छ । करिब चाररपाँच घण्टामै यात्रा गर्न सकिने भएकाले भारतीय बाटो प्रयोग भइरहेको व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहोराले बताउनुभयो । नेपालतर्फ व्यास गाउँपालिका–२, दुम्लिङसम्म मात्रै कच्ची सडक पुगेको छ । नेपालबाट यात्रा गर्दा दुम्लिङदेखि छाङरुसम्मको ३० किलोमिटरको दुरीमा पैदलयात्रा गर्नुपर्ने अवस्था रहेको उनले बताए।
व्यास घोडेटो बाटो निर्माणमा विगत नौ वर्षमा स्थानीय, प्रदेश र सङ्घीय सरकारको गरेर कुल नौ करोड ३० लाख ५६ हजार ३७२ रुपियाँ खर्च भएको छ ।



