महेन्द्रनगर यातायात कार्यालयको राजस्व साढे ४ प्रतिशतले बढ्यो

Published by:

Published on:

महेन्द्रनगर साउन ११ । कञ्चनपुर यातायात व्यवस्था कार्यालय महेन्द्रनगर कञ्चनपुरले संकलन गर्ने राजस्वमा वृद्धि भएको छ । कार्यालयले पछिल्ला तीन वर्षको तुलनामा ४।४५ प्रतिशतले राजस्व वृद्धि गरेको हो ।कार्यालयका अनुसार गत आव ०८२र८३ मा २४ करोड ६८ लाख ९२ हजार राजस्व संकलन भएको छ ।

यो अघिल्लो आवको तुलनामा ४।४५ प्रतिशतले बढी हो । अघिल्लो आव ०८१र८२ मा कार्यालयले २३ करोड ६३ लाख ६७ हजार राजस्व संकलन गरेको थियो । त्यस्तै, आव ०८०र८१ मा २० करोड ७७ लाख संकलन भएको थियो ।त्यसैगरी, संघतर्फ सार्वजनिक सवारीसाधन अग्रिम कर पनि वृद्धि हुँदै गएको कार्यालयले जानकारी दिएको छ ।

तथ्यांकअनुसार आव ०८०र८१ मा ९८ लाख, ०८१र८२ मा एक करोड २७ लाख र गत आवमा एक करोड ३८ लाख संकलन भएको थियो । कार्यालयका लेखा अधिकृत गजेन्द्रप्रसाद जोशीले सवारीसाधन, चालक अनुमतिपत्र, सवारी दर्ता, रजिस्ट्रेसन, यातायात क्षेत्रसहितका विविध शीर्षकमा उक्त रकम संकलन गरिएको बताए ।

उनले गत आवमा पछिल्ला दुई वर्षभन्दा राम्रो राजस्व संकलन भएको बताए ।पछिल्ला दुई वर्षमा झन्डै चार करोडभन्दा बढी राजस्व संकलन भएको उनको भनाइ छ । कार्यालयका प्रमुख कुमार परियारले पनि पछिल्ला वर्षहरूमा राजस्व वृद्धि भइरहेको बताए ।

उनका अनुसार कार्यालयको निरन्तर ताकेता, सक्रियता, सवारीचालक अनुमतिपत्र वितरणमा सक्रियता, सवारीसाधन दर्ता, चालक अनुमतिपत्र लिनेको संख्या वृद्धि र लामो समयदेखि नवीकरण नगरेका सवारीसाधनमाथि शतप्रतिशत जरिवाना छुटले पनि राजस्व वृद्धि भएको हो । तर, पालिका तहमै अटो दर्ता गर्ने प्रावधानले राजस्वमा केही कमी आए पनि अन्य क्षेत्रबाट भने निरन्तर राजस्व संकलन भइरहेको कार्यालयले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार