मल पाएन भने आफ्नो शरिरमा आगो लगाउछु,ःकञ्चनपुरका किसान

Published by:

Published on:

महेन्द्रनगर । ‘आफ्नो शरिरमा आगो लगाउन त पाइएला नि,एक हप्तादेखि आइ रहेको छु, आगो लगाउन त पाइन्छ होला’ कृषि सामाग्री केन्द्र लिमिटेड कार्यालयमा भीमदत्त नगरपालिका २ उल्टाखामका हर्क चन्दले मल नपाएको आक्रोश पोख्दै पीडा पोखे ।

कार्यालय प्रमुख हेम राज जोशी चन्दको कुरा सुनेर तत्काल केही बोलेन । केही समय पछि उनले मल बितरणका लागि छलफल अघि बढेको बताए । चन्द मङ्गलबार पनि मलका लागि आएका थिए । मल नपाएर रित्तो हात फर्किएपछि उनी बुधबार बिहान कार्यालय आए ।

चन्दले मल नपाएको गुनासो गर्दै कार्यालय प्रमुख जोशीसित आफू साङ्सदको कार्ड समेत लिएर आएको सुनाए । ‘सांसदको कार्ड पनि लिएर आएको थिए, तैपनि पाएन’ उनले भने ।

उनीसङ्गै कार्यालय प्रमुखको कार्यकक्षमा उल्टाखामका थिए मान बहादुर बोहरा । बोहरा पनि मलका लागि बिहानै कार्यालय आएका हुन् ।

बोहराले जसरी पनि दिनु पर्ने बताए । उनले दिनहु धाउदा पनि मल पाउन नसकेको बताए । कार्यालय प्रमुख जोशीको कार्यकक्षमा उल्टाखामका अन्य स्थानीय पनि मलको माग गर्दै आग्रह गरि रहेका थिए ।

त्यही बेला एक जना महिला कार्यालय प्रमुखको कार्यकक्षमा प्रवेश गरिन । उनले पनि मल नपाएको गुनासो राखिन् । उनले १०– १५ किलो मल दिएर पनि किचलो हटाउन आग्रह गरिन् ।

‘हामीले पनि मल लगेर दाल साग पकाउने होइन, १० – १५ किलो त दिई दिय, हमरी कच कच त हटली’ उनले भनिन् । कार्यालय प्रमुख कार्यकक्ष भित्र र बाहिर मल माग्दै किसान पुगेका थिए । केही किसान कार्यालय प्राङ्गणमा बसेका थिए । किसानको भीड हुन थालेपछि प्रहरी कार्यालय पुगेका थिए । मंगलबार लफडा भएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

भीनपा उल्टाखामका जङ्ग मल्लले आफू चार दिनदेखि मलका लागि कार्यालय धाइ रहेको बताए । ‘एक कट्टा पाउला भनेर आको छु, आज चार दिन भो, मिलेको छैन’ उनले भने ।उल्टाखामका उनीहरु डेढ सय जनाको नामावली बोकेर कार्यालय पुगेका थिए ।

भीमदत्त २ मा साना किसान सहकारी संस्थाले मलखाद बितरणको अनुमति लिएको छ । सहकारीका व्यवस्थापक नविन भट्ट पनि कार्यालय प्रमुखको कार्यकक्षमा थिए ।

सहकारीले एक सय कट्टा मल (युरिया) वितरणका लागि पाएको छ । मल बितरणका लागि छलफल गर्न उनलाई कार्यालय बोलाइएको थियो ।मंगलबार मल सहकारीलाई मलको कोटा बढाउनु पर्ने किसानको माग थियो ।

सहकारीका व्यवस्थापक भट्टले सहकारीले मलखाद कारोबार बन्दको लागि भीमदत्त नगरपालिकामा निवेदन दिइ सकेको बताए । किसानले निकैबेर दबाव दिएपछि कार्यालय प्रमुख जोशीले शान्त हुन आग्रह गर्दै आफूलाई तनाव भएको बताए । मलाई निकै मलाई तनाव भयो, उठाएर लगि दिनु’ सहकारीका व्यवस्थापक भट्टलाई आग्रह गर्दै उनले भने ।

भीमदत्त २ मा तीन सय कट्टा चाहिने भएको र सहकारीले एक सय कट्टा मात्रै पाएकाले वितरणका क्रममा लफडा हुने डर भएको व्यवस्थापक भट्टले बताए ।

भीमदत्त नगरपालिका हालसमम ९ सय ५९ मेट्रिक टन मलखाद वितरण गरिएको छ । कार्यालय प्रमुख जोशीले जेठदेखि हालसम्म युरिया, डिएएपी वितरण गरिएको बताए ।

‘अहिलेसम्म ९ सय ५९ मेट्रिक टन बाँडि सकेका छौ, यो भनेको १८ हजार कट्टा हो’ उनले भने, ‘कहाँ गयो भनेर भन्दा हिसाब छैन, कोटा बितरण गर्दा बचेको समायोजन गरी बाँडिएको हो ।’

चालु आर्थिक वर्षको माग अनुसारको मलखाद भने साउन पहिलो साता मात्रै पुगेको हो । कार्यालयका अनुसार ६ सय मेट्रिक टन माग गरिएकोमा दुई सय २० मेट्रिक टन मात्रै आएको छ ।

कञ्चनपुरमा मलखादको सात कोटा छ । एक कोटा बराबर ५ सय ४२ मेट्रिक टन हुने कार्यालय प्रमुख जोशीले बताए ।
कार्यालयको गोदाममा हाल ६० मेट्रिक टन युरिया बाँकी छ ।

कार्यालय प्रमुख जोशीले मल पर्याप्त नभएर समस्या आएको बताए ।

कार्यालयका अनुसार बेदकोट नगरपालिका ६ सय ९५ मेट्रिक टन, शुक्लाफाँटा ९ सय २४, कृष्णपुर १ हजार दुई सय २३, दोधारा चाँदनी ५ सय ११ र बेल्डाँडी गाउँपालिका ५ सय ७२ मेट्रिक टन मलखाद वितरण गरिएको छ ।

कार्यालयबाट ९ सय ४४ रुपैँया प्रतिकट्टामा लिएर सहकारीले हजार एक सय रुपैँया बिक्री गर्ने अनुमति पाएका हुन् ।

धान रोपाई गरेको २० देखि ३० दिनभित्र युरिया हाल्नु पर्ने हुन्छ । धान रोपाई गर्दा समेत किसानले मल नपाएको गुनासो गरेका थिए । कृषि ज्ञान केन्द्र कञ्चनपुरका बाली संरक्षण अधिकृत मदन राज भट्टले धानबालीमा बेसडोज र टप ड्रेसमा मल हाल्नु पर्ने बताए ।

‘धान लगाउने बेला पनि रसायनिक मल हालिन्छ, त्यो भनेको बेसलडोज हो, त्यसमा पोटास र डीएपी हाल्लु पर्ने हुन्छ’ उनले भने, ‘ धान रोपेको २० देखि ३० दिन सम्म फेरि मल हाल्नु पर्ने हुन्छ, त्यसमा युरिया हाल्नु पर्छ, त्यसलाई टप ड्रेसमा हाल्ने भन्निछ ।’

धान बालीका लागि चाहिने नाइट्रोजन पूर्तिका लागि टप ड्रेसमा युरिया हालिने भट्टले बताए ।

‘युरिया नहाले नाइट्रोजन कमी हुने भो, त्यसले बाली वृद्धि बिकास कम हुने, अन्य खाद्य तत्व पनि लिन पाउँदैन, त्यहीं भएर उत्पादन स्वभाविक घट्ने हुन्छ’ उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार