शुक्लाफाँटामा बाघ बढेसँगै व्यवस्थापनमा चुनौती

Published by:

Published on:

साउन १४, महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या निरन्तर बढेसँगै अब संरक्षणभन्दा व्यवस्थापन ठूलो चुनौती बनेको छ। निकुञ्ज प्रशासनले बाघको सङ्ख्या वृद्धि सकारात्मक उपलब्धि भए पनि मानव–वन्यजन्तु द्वन्द्व हुन नदिन समयमै व्यवस्थापनका उपाय अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ।

पछिल्लो राष्ट्रिय बाघ सर्वेक्षणअनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा हाल ५० वटा पाटेबाघ पुगेका छन्। चार वर्षअघि सन् २०२२ को सर्वेक्षणमा यहाँ ३६ वटा बाघ मात्रै रहेका थिए। यस अवधिमा १४ वटा बाघ थपिएका हुन्।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार नेपालमै सबैभन्दा ठूलो घाँसे मैदान रहेको शुक्लाफाँटामा बाघका लागि पर्याप्त आहारा, पानीको सहज उपलब्धता र चोरीसिकार नियन्त्रण प्रभावकारी भएकाले बाघको सङ्ख्या उल्लेख्य रूपमा बढेको हो। उनका अनुसार यहाँ प्रतिवर्ग किलोमिटर १४६ वटा आहारा प्रजाति पाइन्छ, जुन नेपालका अन्य निकुञ्जको तुलनामा सबैभन्दा बढी हो।

तर बाघको सङ्ख्या बढ्दै जाँदा व्यवस्थापनमा नयाँ चुनौती थपिएको निकुञ्जको भनाइ छ। वाग्लेका अनुसार बाघको घनत्व अत्यधिक बढेमा चितुवा आफ्नो बासस्थान छाडेर मानव बस्ती नजिक पुग्ने जोखिम बढ्न सक्छ। त्यसैले अब बाघको सङ्ख्या बढाउनेभन्दा सुरक्षित व्यवस्थापनमा ध्यान केन्द्रित गरिनेछ।

यसका लागि निकुञ्जले संवेदनशील क्षेत्रमा फेन्सिङ गर्ने, निगरानी प्रणाली थप प्रभावकारी बनाउने, मध्यवर्ती क्षेत्रका बासिन्दालाई सचेतना कार्यक्रम सञ्चालन गर्ने तथा पशु चौपायाको सुरक्षाका लागि सुधारिएका खोर वितरण गर्ने योजना अघि सारेको छ।

निकुञ्ज कार्यालयका अनुसार हालसम्म शुक्लाफाँटाबाट बाहिर निस्किएको बाघका कारण कुनै मानवीय क्षति भएको अभिलेख छैन। यद्यपि चितुवा बाहिरिने सम्भावना बढेकाले त्यसतर्फ विशेष निगरानी गरिनेछ।

शुक्लाफाँटा बाघका लागि अनुकूल बासस्थान मानिन्छ। यहाँ बाह्रसिङ्गा, हरिण, जरायो र बँदेलजस्ता प्रशस्त आहारा प्रजाति पाइन्छन्, जसले बाघलाई निकुञ्जभित्रै बस्न सहयोग पुर्‍याएको छ।

निकुञ्जका अनुसार पछिल्लो दुई वर्षमा तीन वटा भाले बाघको प्राकृतिक मृत्यु भएको छ। भाले–भालेबीचको संघर्ष तथा उमेरका कारण बाघको प्राकृतिक मृत्यु हुने गरेको जनाइएको छ। हालसम्म शुक्लाफाँटामा मानवीय गतिविधि वा चोरीसिकारका कारण बाघ मरेको घटना भने अभिलेखमा छैन। (गोरखापत्रबाट सम्पादित

ताजा समाचार

सम्बन्धित समाचार