काठमाडौं २०८३ साउन १९। नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक तर्फको हवाई भाडा फ्यूल सरचार्ज० बढाएको छ । प्राधिकरणको निर्णयअनुसार बढेको नयाँ भाडा दर आजैदेखि लागू हुने भएको छ ।
नेपाल आयल निगमले श्रावण १७ मा हवाई इन्धनको मूल्य साविकको प्रतिलिटर २२९ रुपैयाँबाट बढाएर २४९ रुपैयाँ पुर्याउने निर्णय गरेको थियो ।
सोही मूल्य वृद्धिलाई समायोजन गर्न प्राधिकरणको १९ गतेको निर्णयानुसार हवाई सेवा कम्पनीहरूलाई बढेको फ्यूल सरचार्ज कार्यान्वयन गर्न निर्देशन दिइएको हो। ।
प्राधिकरणका हवाई यातायात विभागका प्रबन्धक रमेश कुमार महतद्वारा हस्ताक्षरित पत्र अनुसार नेपाल वायुसेवा निगम, बुद्ध एयर, श्री एयरलाइन्स, यती एयरलाइन्स, समिट एयर, तारा एयर र सीता एयरसहितका सबै आन्तरिक वायुसेवा सञ्चालकहरूलाई नयाँ दर कायम गर्न परिपत्र गरिएको छ ।
सबैभन्दा बढी प्रभाव विराटनगर–धनगढी रुटमा परेको छ, जहाँ टिकट मूल्य १ हजार २९० रुपैयाँले बढेको छ । त्यसपछि नेपालगञ्ज–भद्रपुर रुटमा १ हजार १७० रुपैयाँ र जनकपुर–धनगढी रुटमा १ हजार १०० रुपैयाँले भाडा बढेको छ ।
काठमाडौंबाट हुने उडानमा पनि यात्रुले थप भार बेहोर्नुपर्ने भएको छ । काठमाडौं–धनगढी रुटमा ८८० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज मा ६५५ रुपैयाँ, काठमाडौं–भद्रपुर मा ६०५ रुपैयाँ, काठमाडौं–विराटनगर मा ४८० रुपैयाँ, काठमाडौं–भैरहवा मा ४१० रुपैयाँ, काठमाडौं–पोखरा मा ३१५ रुपैयाँ, काठमाडौं–जनकपुर मा २६० रुपैयाँ र काठमाडौं–सिमरा मा १८० रुपैयाँले टिकट महँगिएको छ ।
यस्तै, पोखरा–भद्रपुर रुटमा ८१० रुपैयाँ, पोखरा–धनगढी मा ६८५ रुपैयाँ र पोखरा–जनकपुर मा ५२५ रुपैयाँले भाडा वृद्धि भएको छ । काठमाडौंबाट सञ्चालन हुने माउन्टेन फ्लाइट पनि ६८५ रुपैयाँले महँगिएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २९० रुपैयाँ कायम गरेपछि सोहीअनुसार फ्यूल सरचार्ज समायोजन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । नयाँ भाडादर आजैदेखि लागू भइसकेको छ ।



