महेन्द्रनगर साउन २६ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक ९डिएसपी० उमेश जोशी अन्तर्राष्ट्रिय सुरक्षा मिसनमा कमाण्डिङ भूमिकामा जाने भएका छन् । उनी एक वर्षे मिसनका लागि सुडानको डार्फरमा खटिने भएका हुन् ।
डिएसपी जोशी यसअघि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी प्रवक्ताको जिम्मेवारीमा कार्यरत थिए । कञ्चनपुरमा जिम्मेवारी सम्हालिसकेका उनी हाल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुखका रूपमा कार्यरत छन् । करिब अढाई महिनाअघि मात्रै ताप्लेजुङ प्रहरीको नेतृत्व सम्हालेका जोशी अब अन्तर्राष्ट्रिय सुरक्षा मिसनमा सहभागी हुन लागेका हुन् ।
कञ्चनपुरमा प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहँदा जोशीले जिल्लाको शान्ति सुरक्षा कायम गर्न तथा अपराध अनुसन्धानमा सक्रिय भूमिका निर्वाह गरेका थिए । नागरिकसँगको समन्वय र सहकार्यलाई प्राथमिकता दिँदै उनले प्रहरीको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरेका थिए ।
जोशी सुदूरपश्चिमका स्थायी बासिन्दा हुन् । प्रहरी संगठनभित्र नागरिकसँग समन्वय गर्न सक्ने तथा अपराध अनुसन्धानमा दक्ष अधिकृतका रूपमा उनको परिचय बनेको छ । जिल्लामा कार्यरत रहँदा उनले प्रहरी र नागरिकबीच सहकार्य बढाउन विभिन्न गतिविधिमा जोड दिएका थिए ।
कञ्चनपुरमा कार्यरत रहँदा २०८१ चैतको अन्तिम सातादेखि २०८२ वैशाखको तेस्रो सातासम्म उनले सेकन्डमेन्टको भूमिकासमेत निर्वाह गरेका थिए । उक्त अवधिमा पनि नागरिकसँगको समन्वय तथा प्रहरीको नियमित कार्यसम्पादनमा प्रभावकारी भूमिका खेलेको सहकर्मीहरूको भनाइ छ ।
अन्तर्राष्ट्रिय सुरक्षा मिसनका लागि छनोट भएपछि जोशीलाई सहकर्मी, उनी मातहत कार्यरत प्रहरी कर्मचारी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् ।



