महेन्द्रनगर । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व भोलि शुक्रबार देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको पूजा–आराधना, व्रत तथा भजन–कीर्तन गरी यो पर्व मनाउने गर्छन्।
धार्मिक मान्यताअनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमी तिथिको मध्यरातमा मथुरामा भगवान् विष्णुको आठौँ अवतारका रूपमा श्रीकृष्णको जन्म भएको थियो। अन्याय र अत्याचार बढ्दै गएको समयमा धर्मको रक्षा तथा अधर्मको अन्त्यका लागि श्रीकृष्णको अवतार भएको धार्मिक विश्वास छ। धार्मिक कथाअनुसार मथुराका राजा कंस अत्याचारी थिए।
देवकीको आठौँ सन्तानबाट आफ्नो मृत्यु हुने भविष्यवाणी भएपछि कंसले देवकी र उनका पति वसुदेवलाई कारागारमा राखेका थिए। त्यही कारागारमा मध्यरातमा श्रीकृष्णको जन्म भएको र वसुदेवले उनलाई गोकुल पुर्याएको धार्मिक कथा प्रचलित छ। x पछि श्रीकृष्णले कंसको अन्त्य गरी अत्याचारबाट मुक्ति दिलाएको विश्वास गरिन्छ। श्रीकृष्ण जन्माष्टमीलाई सत्यको असत्यमाथि, धर्मको अधर्ममाथि र न्यायको अन्यायमाथि विजयको प्रतीकका रूपमा समेत लिइन्छ।
भगवान् श्रीकृष्णले महाभारतको युद्धमा अर्जुनलाई दिएको श्रीमद्भगवद्गीताको उपदेशले कर्म, कर्तव्य, धर्म र सत्यको मार्गमा अघि बढ्न प्रेरणा दिएको धार्मिक विश्वास छ। यस दिन भक्तजनहरू बिहानैदेखि स्नान गरी कृष्ण मन्दिरमा पुग्ने, पूजा–आराधना गर्ने, व्रत बस्ने तथा भजन–कीर्तन गर्ने गर्छन्।
कृष्णको बालरूपको मूर्ति सजाउने, झुलामा राख्ने र विभिन्न धार्मिक कार्यक्रम आयोजना गर्ने परम्परा पनि छ।
श्रीकृष्णको जन्म मध्यरातमा भएको धार्मिक विश्वास रहेकाले धेरै भक्तजनले राति १२ बजेसम्म व्रत तथा जाग्राम बसेर जन्मोत्सव मनाउने गर्छन्। मध्यरातमा कृष्णको जन्म भएको घोषणा गर्दै पूजा, आरती तथा प्रसाद वितरण गर्ने गरिन्छ। धार्मिक पर्व भए पनि जन्माष्टमीले समाजमा सत्य, प्रेम, सद्भाव, कर्तव्य, सहिष्णुता र मानवताको सन्देश दिने विश्वास गरिन्छ। त्यसैले कृष्ण जन्माष्टमीलाई धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै सकारात्मक सामाजिक सन्देश दिने पर्वका रूपमा समेत लिइन्छ।



