महेन्द्रनगर । जिल्ला समन्वय समितिले महाकाली पुल आयोजना र महाकाली नदीको चार लेन पुल निर्माण कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरसित छलफल गर्ने तयारी गरेको छ ।
ठेकेदार कम्पनीले निर्माणाधिन पुल योजना अन्र्तगतको पहुँच मार्ग आफैंले भत्काएपछि समन्वय प्रमुख दुर्गादत्त बोहराले जिल्ला प्रशासन कार्यालय सहितका सरोकारवाला सहित पुल आयोजना र ठेकेदार कम्पनीसित छलफल गर्ने तयारी गरेका हुन् ।
समन्वय प्रमुख बोहराले पहुँच मार्ग भत्काएर अवरोध गर्ने ठेकेदार कम्पनीको कार्यलाई गैर जिम्मेवार भएकाले छलफल गर्न लागिएको बताए ।
‘त्यहाँ बाटो भत्काएर त्यसरी आवतजावत बन्द गर्न कुनै पनि हालतमा राम्रो छैन, अवरोध छ भने छलफल गरी हल गर्न पर्ने हुन्छ’ उनले भने,‘यो गैर जिम्मेवारी हो, यसबारे दुई तीन दिनभित्रै पत्रकारको सहभागितामा छलफल गराउँछु ।’
पुल निर्माण कार्य अन्तिम चरणमा पुगेपछि ठेकेदार कम्पनीले चौथो भेरिएसन स्वीकृति नभएको भन्दै केही दिन अघि पहुँच मार्ग भत्काएर सडक अवरुद्ध गरेको छ । सडक भत्काउने ठेकेदार कम्पनीका इन्जिनियर किशोर पाण्डेय सहित दुई जनालाई पक्राउ गरी प्रशासन कार्यालयमा छलफलपछि छाडिएको थियो ।
महाकाली पुल आयोजना कार्यालयका अनुसार ठेकेदारले चौथो भेरिएसन झण्डै ३० करोडको छ । भेरिएसन स्वीकृतिका लागि विभागमा पठाई पनि स्वीकृत भएको छैन ।
तीन वर्षमा निर्माण कार्य पूरा गर्ने सम्झौता गरिएको कार्य दोब्बर भन्दा बढी समय पुगेको छ । यसले पुल निर्माण लागत पनि बढेको छ । आयोजनाका अनुसार हालसम्म ९८ प्रतिशत कार्य पूरा भएको छ । निर्माण कम्पनीले अन्तिम पटकका लागि गत वर्ष थपिएको म्याद पनि केही महिना अघि सकिएको छ ।
सरकारले मन्त्रीपरिषद्बाट निर्णय गरेर मात्रै म्याद थप हुनेछ । यस अघि पटक पटक ठेक्का म्याद थप गरिएको छ ।
महाकाली पुल आयोजनाका अधिकारीहरुले पनि भेरिएसन स्वीकृत गराउन दबावका लागि पहुँच मार्ग भत्काएको आशंका गरेका छन् ।
यस अघि ठेकेदार कम्पनीले तीन पटक भेरिएसन गरि सकेका छन् । ठेकेदार कम्पनीले पुस गते पुल बन्द गर्ने चेतावनी दिएको थियो ।
त्यसपछि ९ पुष ०८१मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजिकरणका लागि पत्राचार गरिएको थियो ।
