एक युवतीद्वारा ६ महिनामा २० प्रेमी फेरेर आइफोन संकलन, बेचेर घर किनेपछि

Published by:

Published on:

चीनमा करिब नौ वर्षअघि एक महिलाले २० जना पुरुषसँग डेट गरेर सबैबाट नयाँ आईफोन ७ उपहारमा लिएकी थिइन्। उनले ती सबै आईफोन बेचेर १ लाख २० हजार युआन (झण्डै २३ लाख रुपैयाँ) कमाइन् र त्यो रकमबाट आफ्नो लागि फ्ल्याटको अग्रिम भुक्तानी गरेकी थिइन्।

यो घटना फेरि चर्चामा आएको छ किनभने हालै चीनमै यस्तै प्रकृतिको अर्को घोटाला सार्वजनिक भएको छ। तर, यसपटक ठगी गर्ने व्यक्ति एक अधबैंसे पुरुष हुन्, जसले अनलाइनमा ‘सिस्टर होङ’ नामको पहिचान बनाउँदै अन्य पुरुषहरूलाई यौन सम्बन्धका नाममा फसाउने गर्थे।

‘क्रस-ड्रेसिङ’ घोटाला
साउथ चाइना मर्निङ पोस्ट अनुसार यो नयाँ घोटालालाई ‘क्रस-ड्रेसिङ स्क्याम’ भनिन्छ। घोटालामा संलग्न व्यक्तिले आफूलाई महिला बनाएर विभिन्न पुरुषसँग सम्पर्क गर्थे र उपहारको रूपमा पैसा वा वस्तु माग्थे।

सिस्टर होङ नामले चिनिने ती व्यक्तिको ठगी सार्वजनिक भएपछि, नौ वर्षअघिको आईफोन घोटाला फेरी चर्चामा आएको हो। सामाजिक सञ्जालमा कतिपयले पुरानो ठग महिला ‘सिस्टर होङ’की गुरु भएको टिप्पणी पनि गरेका छन्।

२० आईफोन बेचेर घर
पुरानो घटनामा संलग्न महिला शेन्जेनको एक कम्पनीमा कम तलबमा काम गर्ने सामान्य कर्मचारी थिइन्। उनले छ महिनाको अवधिमा २० जना पुरुषसँग डेट गरिन् र सबैलाई नयाँ आईफोन उपहार दिन भनिन्। उनले ती सबै फोन बेचेर घर किनेकी थिइन्।

२०१६ मा कियानजियाङ इभिनिङ न्युजले सार्वजनिक गरेको रिपोर्ट अनुसार ती महिलाको नाम सार्वजनिक गरिएको थिएन। मोबाइल बेच्ने अनलाइन कम्पनीका अनुसार ती महिलाले नखोलेका प्याकेजमा २० वटा आईफोन ७ बिक्रीका लागि पठाएकी थिइन्, जसबाट प्रति फोन औसत ६,००० युआन मूल्य पाइएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार