महेन्द्रनगर पुष ११ । भीमदत्त नगरपालिकाको नगर सभाको १८ औँ अधिवेशन आज सम्पन्न भएको छ । नगर प्रमुख पदम बोगटीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नगरका नीति, योजना तथा कार्यक्रमसम्बन्धी विविध महत्वपूर्ण विषयमा छलफल गरिएको छ ।
नगर प्रवक्ता पदमराज अवस्थीका अनुसार अधिवेशनमा विषयगत समितिहरूका प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै चालु आर्थिक वर्ष २०८२र०८३ का लागि भीमदत्त नगरपालिकाको स्वीकृत बजेट तथा कार्यक्रममा आवश्यक हेरफेर, रकमान्तर तथा शिर्षक परिवर्तन सम्बन्धी प्रस्तावहरू पारित गरिएको छ ।
त्यसैगरी नगर कार्यपालिका बैठकका निर्णयहरूको अनुमोदन, संस्थागत क्षमता स्व–मूल्यांकन लगायतका विषयमा समेत विस्तृत छलफल भएको उनले जानकारी दिए । अधिवेशनमा न्यायिक समितिको प्रतिवेदन न्यायिक समिति संयोजक एवं नगर उपप्रमुख नीलम लेखक जोशीको अनुमतिमा न्यायिक समिति सदस्य तथा नगर सभा सदस्य नरबहादुर साउँदले प्रस्तुत गरेका थिए ।
यस्तै विभिन्न विषयगत समितिहरूका प्रतिवेदन सम्बन्धित समिति संयोजकहरूले प्रस्तुत गरेका थिए । आर्थिक विकास समितिको प्रतिवेदन गगन सिंह धामी, लेखा समितिको प्रतिवेदन हरिहर दमाई, विधेयक समितिको प्रतिवेदन भूपेन्द्र सिंह रावल, सार्वजनिक सेवा तथा क्षमता विकास समितिको प्रतिवेदन प्रताप साउँद, सामाजिक विकास समिति र राजस्व परामर्श समितीको प्रतिवेदन सुशील कुमार भट्ट, वन वातावरण तथा विपद् व्यवस्थापन समितिको प्रतिवेदन प्रकाश थापा र पूर्वाधार विकास समितिको प्रतिवेदन पदमराज अवस्थीले प्रस्तुत गरेका थिए । सभाको १८ औँ अधिवेशनले नगरपालिकाको नीति निर्माण, सुशासन प्रवर्द्धन तथा विकास योजनाहरूको कार्यान्वयनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ ।
