काठमाडौं । नेपालमा श्रृङ्खलाबद्ध साइबर आक्रमण गरिरहेको ह्याकर समूहले सरकारलाई चेतावनी दिँदै सित्तैका स्वयंसेवकले नेपालको डिजिटल पूर्वाधार जोगाउन नसक्ने दाबी गरेको छ ।
Force Anon नामक समूहले महान्यायाधिवक्ता कार्यालयको वेबसाइट ह्याक गर्दै ‘Your Free Volunters wont save the digital Infrastrute of Nepal sorry’ भन्दै उक्त सन्देश छोडेको हो । नेपालमा मच्चाइएको साइबर आक्रमणका घटनाहरू सार्वजनिक गर्न र ब्रिच गरिएका डेटा लिक गर्ने उद्देश्यले ३१ अगस्ट २०२६ मा Force Anon नामक टेलिग्राम च्यानल सञ्चालनमा ल्याइएको छ । उक्त ह्याकर समूहले नेपालका प्रमुख सरकारी, शैक्षिक तथा राजनीतिक निकायहरूलाई निशाना बनाएको छ ।
ह्याकरहरूले महान्यायाधिवक्ता कार्यालयसँगै नेपाल सरकारको क्लाउड प्रणाली र नेपाल प्रहरी अस्पताललाई आफ्नो निशानामा पारिसकेको दाबी गरेका छन् । गण्डकी विश्वविद्यालयमा हालसम्म भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूको डेटा लिक गरिएको छ । सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एड्मिन तथा स्वयंसेवकहरूको विवरण सार्वजनिक गरिएको छ । साथै नगरपालिका अन्तर्गतका नागरिकको सम्पत्ति तथा भवनको विवरण समेत लिक गरिएको छ । नेपालका संवेदनशील सरकारी तथा नागरिकका विवरणहरू सार्वजनिक भइरहँदा डिजिटल पूर्वाधारको सुरक्षामा गम्भीर चुनौती खडा भएको छ । साभार ः टेकपाना



