‘विवादित’ इन्स्पेक्टर बिनुकुमारीको जिम्मेवारी खोसियो

Published by:

Published on:

महेन्द्रनगर । ललितपुरस्थित प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत इन्स्पेक्टर बिनुकुमारी शाहीको जिम्मेवारी खोसिएको छ। उनलाई जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एसएसपी विनोद घिमिरेले जानकारी दिए।

इन्स्पेक्टर बिनुकुमारीमाथि आर्थिक अपचलन गरेको आरोप छ। बलात्कार घटनालाई हनिट्रयापमा रूपान्तरण गरेर आर्थिक लाभ लिएको आरोप उनीमाथि छ। जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको स्रोतले बताएको छ।

३० लाखमध्ये २० लाख रुपैयाँ युवतीका साथीको खातामा जम्मा गरिएको बताइएको छ भने १० लाखको चेक उनलाई दिएपछि व्यापारी छुटेको बताइएको छ। सो कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयापिङमा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। यो प्रकरणमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समितिसमेत बनेको छ।

को हुन् ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी

शाही उनै विवादित इन्सपेक्टर हुन्, जो यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन्। विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइन्।

त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो। त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो। गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो। उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो। तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो। सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन। तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो। साभार रातोपाटी

ताजा समाचार

सम्बन्धित समाचार